काठमाडौं — उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई लक्षित गरी जबरजस्ती सवारी साधनमा चढ्न दबाब दिने तथा अभद्र व्यवहार गर्ने १३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८२ चैत २० गते प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरहरूमा कार्यरत व्यक्तिहरूले सर्वसाधारण यात्रुहरूमाथि दुर्व्यवहार गरेको भेटेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ती व्यक्तिहरूले बस तथा सुमोमा यात्रा गर्ने यात्रुहरूलाई आफूहरूले भनेको सवारी साधनमै जानुपर्ने भन्दै जबरजस्ती गर्ने, यात्रुहरूको झोला तथा सामान तान्ने, दुःख दिने तथा अभद्र व्यवहार गर्ने गरेका थिए।
नियन्त्रणमा लिइएकामध्ये १२ जनालाई नयाँ बसपार्क क्षेत्रबाट नयाँ बसपार्क स्थितबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। त्यस्तै, १ जनालाई कलंकी क्षेत्रबाट प्रहरी वृत्त कालीमाटीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। साथै, यात्रुहरूलाई यस्ता गतिविधिबाट सचेत रहन र कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।

