काठमाडौं । नेपाल अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। भक्तपुरको नगरकोटमा सम्पन्न चौथो साधारणसभा तथा अधिवेशनले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष पौडेल ‘आर्थिक आवाज’ अनलाइनसँग आबद्ध छन् र यसअघि संघका उपाध्यक्ष थिए।
उपाध्यक्षमा तोयानाथ पौडेल, महासचिवमा प्रयास श्रेष्ठ चयन भएका छन्। सचिवमा बसन्त अर्याल र कोषाध्यक्षमा हरिप्रसाद गजुरेल चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा सौरभ नेपाल, अमृत चिमोरिया र कमला भण्डारी सर्वसम्मत चयन भएका छन्।
संशोधित विधानअनुसार ११ सदस्यीय कार्यसमिति रहनेछ भने बाँकी सदस्यहरू निर्वाचित समितिले चयन गर्नेछ। कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
निवर्तमान अध्यक्ष सागर गजुरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै संघको विकास र सदस्यहरूको क्षमता अभिवृद्धिमा निरन्तर सहयोग रहने बताए।

संघका संस्थापक अध्यक्ष उज्ज्वल जंग शाहले पनि अटो पत्रकारिताको सशक्त विकासमा नयाँ टिमले थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

