काठमाडौं । कृषि मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै दिगो विकासतर्फ अघि बढ्नुपर्ने बताएकी छन्।
वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले सहकार्य, प्रतिबद्धता र दृढ इच्छाशक्तिका साथ नेपाल र नेपालीले जलवायु संकटको सामना गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री चौधरीले नेपालले वन संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलनमा उल्लेखनीय प्रगति गरेको बताउँदै यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने उल्लेख गरिन्। साथै, जलवायु परिवर्तनका असर सामना गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताइन्।
उनले निजी क्षेत्र, नागरिक समाज र सञ्चार माध्यमको सक्रिय सहभागिताविना दिगो समाधान सम्भव नहुने स्पष्ट पार्दै सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा गोविन्दप्रसाद शर्माले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन योजनामा नेपाल प्रतिबद्धताका साथ अघि बढिरहेको बताए।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) का नेपाल प्रतिनिधि क्योको योकोसुकाले नेपालको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्।
Previous Articleजाम नेपालमा सुरेन्द्र पौडेलको नेतृत्व, नयाँ कार्यसमिति सर्वसम्मत
Next Article मौसम: लुम्बिनी, बागमती र कोशी प्रदेशमा हल्का वर्षा

