काठमाडौँ । नेपाल प्रहरीले २५ करोड बराबरको अवैध विदेशी मुद्रासहित कुन्साङ लामालाई पक्राउ गरेको छ । कपडा किन्न भन्दै चीन हिँडेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा ९अमेरिकी डलर र युरो० बरामद भएको हो । उक्त विदेशी मुद्रासहित गाडीधनीसमेत रहेका चालक ‘फुच्चे’ भनिने लामा पक्राउ परेका हुन् । सुन ल्याउन चिनियाँ नाकातर्फ पैसा लगिँदै गरेको विश्लेषण नेपाल प्रहरीले गरेको छ ।
परिवारसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरा गरेर बस्दै आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ निवासी कुसाङ लामाले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकलाई सोमबार राति ११ बजे टोखा नगरपालिका–२ झोरबाट प्रहरीले नियन्त्रणमा लिँदा यत्रो परिणाममा विदेशी मुद्रा बरामद भएको हो । अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै चीन लगिँदै छ भन्ने सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले बतााएको छ ।
‘सूचनाका आधारमा ट्रकलाई कार्यालयमा ल्याएर खानतलासी गर्यौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत भन्छन्, ‘चालक बस्ने क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई भित्रपट्टि लुकाएर राखिएको अवस्थामा अमेरिकी र युरो मुद्रा बरामद गरेका हौं ।’ पक्राउ गरेर सोधपुछ गर्दा लामा आफैंले पैसा लुकाएको ठाउँ देखाएको बस्नेतले बताए ।

ट्रक झन्डै तीन साता ग्यारेजमा राखेर निकालिएको दिनमै प्रहरीले पक्राउ गरेको हो । आचार्यका अनुसार रसुवा जाने गाडी प्रायः साताको दुई पटक ओहोरदोहोर गर्छन् । ‘लामाले चलाएको गाडी भने योजना नै बनाएर ग्यारेजमा राखेको र पैसा लुकाउने ठाउँ बनाइएको हुन सक्छ,’प्रहरी उपरीक्षक काजीकुमार आचार्यको भनाइ छ । प्रहरीले एकै पटक भेटेको अहिलेसम्मकै धेरै रकम भएको समेत दाबी गरेको छ ।
प्रहरीका अनुसार ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको खाली ट्रक लामाले रसुवागढीसम्म चलाउने र त्यसपछि अर्का चालकले सीमापार गराउने चाँजोपाँजो मिलाइएको बुझिएको छ ।
प्रहरीसँग लामाले आफू फेन्सी कपडा खरिद गर्न जान लागेको बताएका छन् । ‘तर कपडा लिन नभई सीमापार गरेर अवैध रकम चीन पुर्याई उताबाट सुन खरिद गरेर ल्याउन खोजिएको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी पैहरी उपरीक्षक काजीकुमार आचार्य भन्छन् ।
यसअघि राजस्व छली, सुन तस्करीमा ५ वर्ष जेल परेका थिए लामा
पक्राउ परेका ४३ वर्षीय लामा यसअघि पनि राजस्व छली र सुन तस्करीमा ५ वर्ष जेल परेका व्यक्ति हुन् । उनी ७ केजी सुन तस्करीमा २०७३ पुस १३ मा गाडीसहित काठमाडौं आउँदै गर्दा गल्छीमा समातिएका थिए । त्यतिबेला उनी भरियाका रूपमा काम गरेको अभियोग लागे पनि सुन तस्करीका मुख्य मान्छेसम्म प्रहरी पुग्न सकेको थिएन । जेलबाट छुटेपछि लामा निरन्तर सुन तस्करीमा भरिया र चालकका रूपमा काम गरिरहेको अनुमान प्रहरीको छ । प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
‘नेपालमा पनि विदेशी पैसाको कारोबार हुन्छ, मनी एक्स्चेन्ज छन्, यो पैसा नेपालबाटै संकलन गरेर लगेको हुन सक्छ,’ उनी भन्छन् ।
प्रहरीले लामाका साथबाट दुई थान मोबाइल बरामद गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे ठूलो परिमाणमा पैठारी र चोरी हुने गरेको तथ्यलाई यो घटनाले इंगित गरेको बताउँछन् ।
फागुनसम्ममा ५ करोडभन्दा बढी अवैध विदेशी मुद्रा बरामद
हरेक महिना नेपालमा औसतमा ६२ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद हुने गरेको छ । प्रहरीले यस आर्थिक वर्षको फागुनसम्ममा ५ करोडभन्दा बढी अवैध विदेशी मुद्रा बरामद गरेको छ ।
आर्थिक वर्षको फागुनसम्म ९७ हजार १ सय ५७ अमेरिकन डलर, ८७ हजार ५० युरो, ७ हजार २ सय स्विस फ्र्यांक, ४६ हजार २ सय क्यानेडियन डलर, २ सय ४९ सिंगापुर डलर बरामद गरेको छ । यस्तै, ४० लाख ३५ हजार जापानी येन, ५७ हजार साउदी रियाल, ४० हजार ५ सय २० थाई भाट, १ सय मलेसियन रिंगेट र ७१ लाख ७ हजार ३४० भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । सबै मुद्राको नेपाली रुपैयाँ ५ करोड ३७ लाख ५२ हजार ६ सय १५ हुन्छ । यो अवैध मुद्रा कारोबारमा नेपाली २५ र २२ विदेशी नागरिक पक्राउ परेका छन् ।
पछिल्ला ६ वर्ष २०७५र७६ देखि २०८०र८१ सम्म स्रोत नखुलेको नेपाली र विदेशी गरेर ३४ करोड २७ लाख ५१ हजार ५ सय ८१ रुपैयाँ बरामद भएको छ । प्रहरीका अनुसार २०७५र७६ मा १ करोड ५९ लाख १० हजार ९ सय ५९ रुपैयाँ, २०७६र७ मा ८९ लाख ५ सय, २०७७र७८ मा ७ करोड २९ लाख २७ हजार ८ सय ५०, २०७८र७९ मा ११ करोड ५४ लाख ४४ हजार ६ सय २४, २०७९र८० मा ५ करोड ५३ लाख ८७ हजार ६ सय ८ रुपैयाँ र २०८०र८१ मा ७ करोड ४१ लाख ८० हजार ४० रुपैयाँ बरामद भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार यसरी नियन्त्रण भएको रकम भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयमा पुग्छ । ‘स्रोत नखुलेको रकममा अनुसन्धान पूरा भएपछि कानुनअनुसार सरकारको राजस्वमा दाखिला हुन्छ । तर स्रोत नखुलेको रकम चोरी, ठगी वा अन्य केहीबाट आएको हो भने त्यस विषयमा समेत अनुसन्धान गरेर मुद्दा चल्ने गरेको छ,’ आचार्य बताउँछन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल स्रोत नखुलेको पैसाको परिमाण बढ्दा यसले प्रत्यक्ष रूपमा देशकै अर्थतन्त्रमा असर पर्ने बताउँछन् । उनका अनुसार बैंकिङ कारोबारसँगै देशको राजस्वमा समेत असर पुर्याउने गरेको छ ।

