मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २४ जनालाई अदालतले थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।
राज्य विरुद्धको कसुरमा यसअघि चैत २६ मा अदालतले १५ दिनको म्याद दिएर प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो।
तीनकुनेमा आयोजित पूर्वराजा समर्थक प्रदर्शनका क्रममा अवान्छित गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ। सोही अभियोगमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं र राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसमेत पक्राउ परेका हुन्।
यस्तै, सोही मुद्दामा अनुसन्धान जारी रहँदा क्यान्सरको उपचारका लागि राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने रिहा भएका छन्।

