काठमाण्डौं। प्रचण्डको अभिनय गर्ने कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित लोकप्रिय हाँस्य कलाकार गौतमको निधन भएको हो ।
‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतमको गए राति १२ः१० बजे उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको उनको परिवारले जनाएको छ ।
कलाकार गौतमको फेसबुक एकाउन्टबाट मंगलवार राति १ः०५ बजेको समयमा कलाकार गौतमको एउटा तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘अब हामी माझ रहनु भएन , हार्दिक श्रद्धाञ्जली ।’
कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै यो संसारबाट बिदा भएका यी लोकप्रिय कलाकारले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि निको नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौँ फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरूमा समेत सहभागी भएका थिए ।