काठमाडौं,
राजन थापा असार २१
नेपाल नेत्रज्योति संघ, काठमाडौं शाखा र साझा यातायातको संयुक्त आयोजनामा शनिबार साझा यातायातमा कार्यरत चालक, सहचालक तथा अन्य कर्मचारीहरूका लागि एक दिवसीय निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १७९ जनाले सेवा प्राप्त गरेका छन्।
शिविरमा सहभागी कर्मचारीहरूको आँखा परीक्षणपछि आवश्यक व्यक्तिहरूलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको आयोजक संस्थाहरूले जनाएका छन्। आँखा सम्बन्धी प्रारम्भिक समस्याहरू समयमै पत्ता लगाउन र दृष्टि संरक्षणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।
साझा यातायातका कर्मचारीहरू लामो समयसम्म सवारी सञ्चालनमा खटिने भएकाले उनीहरूको दृष्टि स्वास्थ्य अत्यन्त महत्वपूर्ण रहेको आयोजकहरूले बताए। यस्तो खालका स्वास्थ्य शिविरले कर्मचारीहरूको कार्यक्षमता र सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ, साझा यातायात र कीर्तिपुर आँखा अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

