काठमाडौँ, पुस ९ गते । अर्थतन्त्रका महत्त्वपूर्ण सूचक कमजोर हुँदै गएको चर्चा चलिरहेका बेला चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामै आयात चुलिएको छ । विदेशी मुद्रा सञ्चिति घटिरहेको र शोधनान्तर घाटामा रहेर चाप बेहोरिरहेको आयातबापत छोटो समयमै ठूलो रकम बाहिरिएको तथ्याङ्क सार्वजनिक भएको हो । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको उक्त तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा आयातका लागि आठ खर्ब ३८ अर्ब रुपियाँ बाहिरिएको छ । अघिल्लो वर्षको तुलनामा यो तीन खर्ब रुपियाँभन्दा बढी हो । गत मङ्सिरमा नेपालले पाँच खर्ब २५ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।
यसबीचमा नेपालले निर्यातबापत एक खर्ब तीन अर्ब रुपियाँ बराबरको आम्दानी गरेको छ । पाँच महिनामै एक खर्ब रुपियाँभन्दा बढीको आयात गरेको यो पहिलो पटक हो । यो अघिल्लो आर्थिक वर्षको मङ्सिरभन्दा यस पटक ५३ अर्ब रुपियाँले बढी हुन आउँछ । अघिल्लो मङ्सिरसम्म नेपालले ५० अर्ब रुपियाँको वस्तु निर्यात गरेको थियो ।

