चन्द्रागिरी, काठमाडौँ
—राजन थापा
२०८२ असार २१
लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण र योगदान राष्ट्रको लागि चन्द्रागिरी नगर समितिको संयुक्त आयोजनामा चन्द्रागिरी नगरपालिका–२ स्थित ॐमसिने बार्ड भञ्ज्याङमा एकदिने निःशुल्क दन्त, आँखा, सुगर, प्रेसर तथा सामान्य स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ।
स्वास्थ्य सेवा वञ्चित समुदायसम्म पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविरमा ॐ समाज डेन्टल अस्पताल र मिड पोइन्ट, सतुङ्गलले सहयोगी संस्थाका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
शिविरमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए।
दन्त सेवामा डा. गौरी श्रेष्ठ र डा. ऋतिका श्रेष्ठले परीक्षण तथा उपचार प्रदान गरे
स्वास्थ्य सेवा सहयोगमा जुनु पण्डित र अबिना दवासेको सक्रिय उपस्थिति थियो
सम्पूर्ण व्यवस्थापन तथा समन्वयमा अस्पताल इन्चार्ज अञ्जना खड्काको उल्लेखनीय भूमिका रहेको थियो
कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो:
२२१ जनाले दन्त परीक्षण तथा उपचार सेवा पाए
१२१ जनाले आँखा परीक्षण सेवा लिएका थिए
साथै, सेवाग्राहीहरूले सुगर, ब्लड प्रेसर तथा सामान्य स्वास्थ्य परीक्षण पनि गराएका थिए
शिविरपछि स्थानीय बासिन्दाहरूले आयोजकप्रति आभार व्यक्त गर्दै यस्ता जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। आयोजक संस्थाहरूका अनुसार, स्वास्थ्य सेवाको पहुँच सबै नागरिकसम्म पुर्याउने अभियान अन्तर्गत आगामी दिनहरूमा पनि यस्ता शिविरहरू निरन्तर आयोजना गरिनेछ।

