काठमाडौँ, पुस १२ गते । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकाले माथिल्लो तहमा अध्ययन गर्न ३५ प्रतिशतलाई आधार बनाएको छ ।
मन्त्रालयका सहसचिव दीपक शर्माले भन्नुभयो, “नयाँ व्यवस्थाले विद्यार्थीको सिकाइमा सुधार ल्याउने विश्वास गरेका छौँ । विगतमा अनुत्तीर्ण भनी प्रमाणपत्रमा उल्लेख नहुँदा विदेश गएर पनि उच्च शिक्षामा भर्ना हुन्थे । तर अब ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउनेहरू माथिल्लो कक्षामा भर्नाका लागि अयोग्य ठहरिन्छन् ।”
