काठमाडौं, असार २१ – उपन्यासकार लीलाध्वज थापाको १०५औं जन्मजयन्तीको अवसरमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले आयोजित विशेष समारोहमा प्रा. डा. दयाराम श्रेष्ठलाई लीलाध्वज थापा साहित्य सम्मान प्रदान गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले डा. श्रेष्ठलाई नगद रू २५ हजार सहित सम्मानपत्र प्रदान गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले दोसल्ला ओढाएर र माला लगाई सम्मान गर्नुभयो। सम्मान ग्रहण गर्दै डा. श्रेष्ठले आफूलाई यो सम्मान प्राप्त हुँदा “हात्तीमाथि हौदा चढेजस्तो” अनुभूति भएको बताउँदै, लीलाध्वज थापाको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानमार्फत आजको सम्मान पाउँदा आत्मिक खुशी लागेको प्रतिक्रिया दिनुभयो।
सो अवसरमा **लीलाध्वज थापाको २००९ सालमा प्रकाशित चर्चित निबन्ध ‘दाह्री’**को पुनर्मुद्रण गरिएको संस्करण सार्वजनिक गरिनुका साथै ‘विवेचकको दृष्टिमा विजयध्वज थापा’ शीर्षक समालोचना कृतिको पनि विमोचन गरिएको थियो। यो पुस्तक रामप्रसाद पन्तको सम्पादनमा दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो।
कार्यक्रममा समालोचक प्रमोद प्रधानले ‘दाह्री’ निबन्धलाई नेपाली साहित्यको हास्य विधामा अद्वितीय र रसिलो उदाहरण भएको टिप्पणी गर्नुभयो। साथै, समालोचना कृति ‘विवेचकको दृष्टिमा विजयध्वज थापा’मार्फत लेखक विजयध्वज थापाको साहित्यिक योगदानबारे विस्तृत जानकारी पाउन सकिने बताउनुभयो।
कविता वाचन सत्रमा कवि विप्लव ढकाल, रञ्जना निरौला, भीष्म उप्रेती र गीता कार्कीले आफ्ना सिर्जना प्रस्तुत गर्नुभयो। अध्यक्ष थापाले उनीहरूलाई खादा ओढाएर र प्रमुख अतिथिले कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो।
प्रा. रमा शर्माले लीलाध्वज थापाको योगदान स्मरण गर्दै उहाँको नाममा प्रतिष्ठान स्थापना गर्नु प्रेरणादायी कार्य भएको बताउनुभयो। वरिष्ट पत्रकार रोचक घिमिरेले ‘दाह्री’ निबन्धको साहित्यिक मूल्यको चर्चा गर्दै यो कृति पुनः प्रकाशित गरेकामा आयोजकलाई धन्यवाद दिनुभयो।
रामप्रसाद पन्तले स्वागत मन्तव्य दिँदै डा. श्रेष्ठको दीर्घ साहित्यिक योगदानबारे चर्चा गर्नुभयो। कार्यक्रममा साहित्यकार यादव भट्टराईले कुशल उद्घोषण गर्नुभएको थियो।
अन्त्यमा सभापति विजयध्वज थापाले प्रमुख अतिथि डा. श्रेष्ठसहित सम्पूर्ण अतिथिहरूप्रति आभार व्यक्त गर्दै, प्रतिष्ठानले भविष्यमा पनि साहित्यको उन्नयन र श्रष्टा सम्मान कार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

