दाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीबारदेखि शुरु हुँदैछ । चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई दाङले जनाएको छ ।
प्रश्नपत्र र उत्तरपुस्तिका सबै स्थानीय तहमा पु¥याइएको कार्यालयले जनाएको छ । परीक्षा तालिकानुसार आज पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ भने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा देशभरबाट ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।
४७ केन्द्रमा १४ हजार परीक्षार्थी
शिक्षा विकास तथा समन्वय इकाई दाङले आजदेखि शुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत दुई सय ५३ विद्यालयका सात हजार पाँच सय छ छात्रा र छ हजार सात सय ८२ छात्र गरी कूल १४ हजार दुई सय ८८ परीक्षार्थी सहभागी हुने जनाएको छ । जसमा ११ प्राविधिक विद्यालयका तीन सय ५० विद्यार्थी समेत परीक्षार्थी रहेका छन् । कार्यालयका अनुसार नियमिततर्फ यस वर्ष पाँच हजार सात सय ६३ छात्र र छ हजार एक सय ३३ छात्रा गरी ११ हजार आठ सय ९६ जना रहेका छन् । जिल्लामा ग्रेड बृद्धितर्फका दुई हजार तीन सय ९२ परीक्षार्थी रहेका छन् जसमा छात्र एक हजार १९ र छात्रा एक हजार तीन सय ७३ छन् ।
परीक्षाका लागि कार्यालयले ४७ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ । जसमा सामुदायिक विद्यालयमा ३९ र संस्थागतमा आठ रहेका छन् । स्थानीय तहतर्फ सबै भन्दा धेरै घोराही र तुलसीपुर उपमहानगरपालिकामा केन्द्र छन् । दुई स्थानीय तहमा १४÷१४ केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा तीन÷तीन केन्द्र रहेका छन् । दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा दुई÷दुई तथा राजपुर र बंगलाचुली गाउँपालिकामा एक÷एक केन्द्र निर्धारण गरिएको छ । संस्थागत विद्यालयतर्फ घोराही उपमहानगरपालिकामा चार, तुलसीपुर उपमहानगरपालिकामा तीन र लमही नगरपालिकामा एक केन्द्र छन् ।
दुई हजार जनशक्ति परिचालन
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्षको एसइई परीक्षाका लागि प्रत्यक्षरुपमा झण्डै दुई हजार जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एकजनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । जिल्लाभर रहेका ४७ केन्द्रमा ४७ जना केन्द्राध्यक्ष, ९८ सहायक केन्द्राध्यक्ष, सात सय १८ निरीक्षक खटाइएको कार्यालयका सूचना अधिकारी तिलकराम बन्जाडेले जानकारी दिनुभयो । त्यसैगरी एक सय ४४ सहायक कर्मचारी, दुई सय ९५ सहयोगी कर्मचारी खटाइनेछ । प्रत्येक परीक्षा केन्द्रमा १० देखि १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको संख्या थप पनि हुन सक्ने उहाँको भनाइ छ । उहाँका अनुसार सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप व्यवस्था गर्न सक्नेछ ।
‘दाङमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षाको मर्यादा कायम गरेर भयरहित हुँ‘दै ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई अनुरोध गर्दछौं’– शिक्षा विकास तथा समन्वय इकाई दाङका सूचना अधिकारी तिलकराम बञ्जाडेले भन्नुभयो– ‘परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउन विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकलाई अनुरोध गर्दछौं ।’ परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । यस्तै परीक्षामा परीक्षार्थीले ल्याउन नमिल्ने निषेध गरिएका बस्तु ल्याएमा विद्यार्थीलाई कारवाही गरिनेछ । जिल्ला परीक्षा समितिको बैठकले मोबाइल तथा इलेक्ट्रोनिक्स डिभाइस ल्याएको फेला परेमा परीक्षा नै रद्द गर्नेसम्मको निर्णय गरेको छ । जसमा मूल प्रवेशद्वारमा मोबाइल तथा इलेक्ट्रोनिक्स डिभाइस फेला परेमा बरामद गर्ने तथा कक्षा कोठामा निषेध गरेका बस्तु तथा मोबँइल एवं इलेक्ट्रोनिक्स डिभाइस ल्याएको फेला परेमा परीक्षार्थीको परीक्षा रद्द गरी सोको सिफारिस राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी र सोको जानकारी शिक्षा विकास तथा समन्वय इकाई दाङलाई केन्द्राध्यक्षले दिने निर्णय पनि भएको छ ।
कसरी लेख्ने परीक्षामा ?

विगत वर्षदेखि माध्यमिक शिक्षा परीक्षामा लेटर ग्रेडिङ पद्धतिको प्रयोगपश्चात त नपढे पनि पास भइन्छ भन्ने अर्को भ्रम थपिन पुगेको छ । परीक्षार्थीले लेटर ग्रेडिङ पद्धतिमा अझ बढी अध्ययन गर्नुपर्छ भन्ने भावना राख्नुपर्दछ । विद्यालय तहका कक्षा १० को अन्तमा हुने यस परीक्षाको महत्व धेरै छ भन्ने कुरा नभुली आफूलाई परीक्षाप्रति ध्यानकेन्द्रित बनाउनु परीक्षार्थीको कर्तव्य हो ।
परीक्षामा राम्रो अंक प्राप्त गर्नका लागि प्रभावकारी लेख्ने शैली आवश्यक छ । यहाँ केही महत्वपूर्ण टिप्स छन् जसले तपाईंलाई परीक्षामा राम्रो लेख्न मद्दत गर्छ । प्रश्नको उत्तर लेख्दा प्रश्न राम्ररी बुझ्ने, उत्तर लेख्न शुरु गर्दा विषय बस्तुको परिचय तथा मुख्य भाग लेखेपछि संक्षेपमा निष्कर्ष लेख्ने गर्नुपर्छ । लेखाइलाई लामो र जटिल नबनाई सिधा र स्पष्ट वाक्यमा लेख्नुपर्छ । परीक्षामा समय नपुगेर प्रश्न छुट्ने सम्भावना रहन नदिन प्रश्न भार अनुसार समय व्यवस्थापन गर्नुपर्छ । राम्रो अक्षरमा उदाहरण र तथ्य पेश गरेर उत्तर लेख्दा राम्रो हुन्छ । परीक्षार्थीले परीक्षाको यो घडीमा आफूलाई सकारात्मक राख्नु आवश्यक हुन्छ । विद्यार्थी स्वयं परीक्षाप्रति समर्पित हुनु परीक्षार्थीको सफलताको मूल मन्त्र हो ।
विद्यार्थीले निर्धक्कसँग आफ्ना कुराहरु उत्तरपुस्तिकामा लेख्नुपर्छ र लेख्न पाउनु पनि पर्छ । परीक्षा केन्द्र र परीक्षा कोठाको वातावरणलाई शान्त, मर्यादित र भयरहित तरिकाले परीक्षामा आउने प्रश्न र तीनको सही, शुद्ध, मौलिक तरिकाले विषयगत शैलीमा लेख्नुपर्दछ । प्रश्नको उत्तर दिदा नआत्तिने, नहडबडाइ जानेको विषय उत्तरपुस्तिकामा लेख्ने, परीक्षामा अनैतिक कार्य नगर्ने जस्ता प्रतिवद्घताहरु विद्यार्थी स्वयंले पालना गर्नुपर्छ । परीक्षामा चिटिङ गरेर लेख्दा सबैलाई ढाँट्न सकिएला तर पनि आफूलाइ ढाँ‘ट्न सकिन्न भन्ने भनाइलाई सबै परीक्षार्थीले बेलैमा सोचेर अनैतिक कार्यबाट अलग रहनु अतिआवश्यक छ ।

