काठमाडौँ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को २९औँ अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरको लिटिल एञ्जेल्स स्कूलमा सुरु भएको छ । फागुन १७ सम्म चल्ने सम्मेलनको उद्घाटन नेपाल सरकारका उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिँह श्रेष्ठले बिहिबार गरेका हुन् ।
मेसिन, मानवता र भाषाः अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरू खोज्ने मुख्य उद्देश्य रहेको सम्मेलनमा १५ भन्दा बढी अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी विषयवस्तुमा आधारित भएर सम्मेलन सम्पन्न हुनेछ । सम्मेलनमा बेलायत, अमेरिका, जापान, सिंगापुर, मलेसिया, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्याण्ड, रूस, मंगोलिया, श्रीलंका, नेपाल गरी २० भन्दा बढी देशका वक्ता, विशेष वक्ता र प्यानलिस्ट गरी हजार भन्दा बढी सहभागी छन् ।
सन् १९९२ मा एक स्वैच्छिक, गैर–राजनीतिक, गैर–नाफामुखी संस्थाको रूपमा स्थापित भएको नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को मुख्य उद्देश्य दक्ष मानव संसाधनको विकास गर्नु र अंग्रेजी शिक्षकहरू, अंग्रेजी भाषा शिक्षण सम्बन्धी पेशाकर्मीहरू, अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूलाई उनीहरूको निरन्तर व्यावसायिक उन्नतिको लागि सहयोग प्रदान गर्नु हो । यो संस्था नेपालमा अङ्ग्रेजी भाषा शिक्षण मार्फत शिक्षाको स्तर बढाउन प्रतिबद्ध छ। हाल नेल्टाले देशका सात प्रादेशिक समिति र ६० शाखाहरू मार्फत काम गर्दछ भने ५५ सय भन्दा बढी आजीवन सदस्य रहेका छन् । नेल्टाले रेलो अमेरिकी दूतावास काठमाडौं, ब्रिटिश काउन्सिल, टिसोल (अमेरिका), आएटेफल (बेलायत), बेल्टा (बंगलादेश), इस्पेल्ट (पाकिस्तान), एलटाई (भारत), जाल्ट (जापान), मेल्टा (मलेसिया), आइनेट (भारत), नाइल टिसोल (इजिप्ट), बेल्टएण्ड रोड (चीन)र टेसोल (स्पेन), नाटे (रूस), रेल्क(सिंगापुर), कोरिया टिसोल, मंगोलिया टिसोलजस्ता प्रतिष्ठित संस्थाहरूसँग नजिकबाट सहकार्य गरेको छ ।
विश्वभर अङ्ग्रेजी शिक्षामा काम गर्ने संस्थाहरूको व्यावसायिक संस्कृतिको विकास गर्नु र यस क्षेत्रमा भएका र गर्नुपर्ने अद्यावधिकहरू, नवीनताहरू र उपलब्धिहरूको आदानप्रदान गर्नु रहेको नेल्टाका महासचिक अशोक सापकोटाले बताए । नेपालका अंग्रेजी भाषा शिक्षकहरूको व्यावसायिक सञ्जालको रूपमा नेल्टाले सम्मेलन, सेमिनार र विभिन्न कार्यशालाहरू आयोजना गर्दै आएको छ ।
कार्यक्रममा स्वदेश र विदेशका विज्ञहरूबाट भाषा, अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषाविज्ञानका विविध विषय-विशेषज्ञका मन्तव्य एवम् टिप्पणी रहने छ ।
प्राध्यापक तीर्थराज खनिया (नेपाल), प्राध्यापक जयराज आचार्य (नेपाल), प्राध्यापक लक्ष्मण ज्ञवाली (नेपाल), डा. गंगाराम गौतम (नेपाल), डा. दयामुद्रा एन डेन्नेही (संयुक्त राज्य अमेरिका), नीनाज इचापोरिया (इङ्गल्याण्ड), प्राध्यापक डा. एल्भिन पाङ (सिंगापुर), प्राध्यापक डा. रोबर्ट स्ट्राउड (जापान), प्राध्यापक लिन्डसे एन. हेरोन (कोरिया), डा.थानिस थाङकित जारोएनकुन (थाई टेसोल), प्रा. टी. कुमारी खरबमोन (भारत), प्रोफेसर जेएन पाटिल (भारत) लगायतले कार्यक्रममा महत्वपूर्ण विचार राख्ने छन् । कार्यक्रमा डा. कनिता रिदवाना (बङ्गलादेश), डा. लाशना नन्दकुमारन (मलसिया), डा. आंखज्या बत्सुरी (मंगोलिया), डा. मार्कोभा एलेना (रूस), शिवकुमार सापकोटा (नेपाल), चन्द्रकान्त भुषाल (नेपाल), रोजर एफ कोहेन (अमेरिका) आफ्नो महत्वपूर्ण ज्ञान बाड्ने छन्र ।

संयुक्त र व्यक्तिगत प्रस्तुति र पोस्टर प्रदर्शन (अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषाविज्ञानका विभिन्न विषयवस्तु र क्षेत्रहरूमा लगभग २०० बढी प्रस्तुति हुनेछन् ।
नेपाली सन्दर्भमा अङ्ग्रेजी शिक्षावारे पुनर्विचारः नेपालमा भाषिक विविधताको बहुभाषिक व्यवस्थापन विषयमा डा. भीमलाल गौतम सहजीकरण गर्ने र डा. लवदेव अवस्थी, डा. प्रेमप्रसाद पौडेल, प्राध्यापक मोतिकला सुब्बा देवानले आफ्नो धारणा पस्किने कार्यक्रम रहेको छ ।
नेपालमा शिक्षक शिक्षाःप्रतिबद्दता र अभ्यासहरु विषयमा मध्यस्थकर्ता अशोक सापकोटा रहने छन् भने सुदामप्रसाद गौतम, सुरेन्द्रकुमार घिमिरे, पवित्रा लिम्बुले आफ्ना विचार राख्ने छन् भने
संगोष्ठी र कविता सत्र समेत रहेको छ । कविता सत्र(स्लाम पोएट्री )मा कवि प्रोफेसर विष्णु एस राई, मोमिला जोशी र नवराज पराजुलीले आफ्ना दमदार कविता पस्किने छन् ।
अक्सफोर्ड, राउटलेज, रेलो, ब्रिटिश काउन्सिल, युसइफ लगायत विभिन्न प्रकाशन र संस्थाहरूद्वारा पुस्तक मेला र अन्य भाषिक खेलहरू समेत आयोजना गरिएको आयोजक संस्था नेल्टाले जनाएको छ ।
सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन, नेपाल पर्यटन बोर्ड, मदन भण्डारी मेमोरियल कलेज, मेधावी कलेज, पाठशाला नेपाल फाउण्डेशन, नोबुला ट्राभल्स, नबिल बैंक, होटल ग्रान्डी (पोखरा), अमेरिकन दुताबास (रेलो) काठमाण्डौ, होटल ग्रान्डी (पोखरा), होटल मल्ल काठमाडौं, ब्रिटिस काउन्सिल, ललितपुर महानगरपालिका र विभिन्न स्थानीय निकायको सहयोग रहेको छ ।
नेल्टाले सन् २०११ देखि अमेरिकन दुताबासको सहयोगमा ३५ वटा जिल्लामा १ हजार ७ सय बढी सिमान्तकृत बिद्यार्थीहरूलाई अङ्ग्रेजी भाषा तथा कम्पयुटर लगायत नेतृत्व बिकासका कार्यक्रमहरु सञ्चालन गरेको छ । आउने दिनमा प्रविधिलाई अङ्ग्रेजी भाषा सिकाइमा कसरी बढी भन्दा बढी प्रयोग गरि शिक्षण तथा सिकाइलाई सजिलो बनाउने भन्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने छ । यसबाहेक अन्तराष्ट्रिय रूपमा प्रचलित अन्तर्राष्ट्रिय संस्थासित सहकार्य गरी क्षेत्रीय सम्मेलन सञ्चालन गर्ने लक्ष्य रहेको नेल्टाका महासचिव अशोक सापकोटाले टपटेनखबरसित बताए ।

