शोभा ढकाल
सकिन आमा मैले कुनै उपहार दिन
माता औंसीमा तिमीलाई,
तर भबिष्य सधैं एकनास नरहला आमा।
त्यसैले म लेख्छु, आज तिमीलाई सम्झेर,
मेरो हृदयका अक्षरहरूले बुनेको उपहार।१।
आमा — तिमी त सूर्यकी पहिलो किरण,
जसले बाल्यकालमा उज्यालो भर्दिन्थ्यौ,
मेरो गल्तीमा हाँसी सक्थ्यौ,
मेरो जितमा भन्दिन्थ्यौ, “यो त तेरो मात्र होइन, हाम्रो पनि हो।”२।
तिमीले अञ्जुलीमा राखेर स्वप्नहरू दिन्थ्यौ,
र रातभरि जागा बसेर सपना सिँच्थ्यौ।
थाकेर आएँ भने, तिम्रो काख संसार बन्थ्यो,
र हराए जस्तो लाग्दा, तिम्रै आँखामा बाटो भेट्थेँ।३।
आज म आफैं भोलिको सपना बुन्दै छु,
आफ्नै बाटो आफैं बनाउँदै छु,
तर थाहा छ, आमा —
हरेक पाइलामा तिम्रै आशीर्वादको छायाँ छ।४।
उमेरले तिमीलाई थकाइदिँदैछ होला,
तर म तिमीलाई अझै उही,
सबल, अटुट मायाको मूर्ति देख्छु।५।
आमा —
सकिन म तिमीलाई सुनौला गहना दिन,
वा मिठा मिठा कुरा ल्याउन,
तर वाचा गर्छु —
मेरो सम्मान, माया र समर्पण कहिल्यै सुक्न दिनेछैन।६।

