१४ भदौ। बर्दिबास, महोत्तरी।
१८ औं राष्ट्रिय पुस्तकालय दिवस २०८२ को अवसरमा आयोजित ‘पठनसंस्कृति प्रवर्द्धन : सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम देउराली मा.वि. को सभाकक्षमा सम्पन्न भयो । नेपाल लाइव्रेरी फाउन्डेशन गृह पुस्तकालय अभियान मधेस प्रदेश समन्वय समितिको आयोजना र महोत्तरी जिल्ला समन्वय समितिको सहआयोजना सम्पन्न कार्यक्रमको सञ्चालन महोत्तरी जिल्ला संयोजक सरिता पोख्रेलले र स्वागत मन्तव्य बर्दिबास नगर संयोजक शान्ता काफ्लेले गरेकी थिईन्।
मधेस प्रदेश समन्वय समिति संयोजक प्रेम कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रलेस मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज सिरहाका अध्यक्ष गणेश अधिकारी, गृह पुस्तकालय अभियान धनुषाका संयोजक गणेश तिमल्सिना ‘गति’, मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दाहाल, सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष नारद काफ्ले, बलेसी साहित्य समाज महोत्तरीका अध्यक्ष भिम राउत, प्रलेस रौतहटका अध्यक्ष राम प्रसाद आचार्य, बर्दिवास साहित्यिक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, सैनिक आवासीय महाविद्यालयका लाइब्रेरीयन कृष्ण भण्डारी, जनजागृती पुस्तकालय रौतहटका अध्यक्ष कुल शेखर पहाडी, मा.वि. भंगाहाका शिक्षक लिलानाथ गौतम, मा.वि. कृष्णपुरका प्र. अ. सुदर्शन आचार्य, सैनिक आवासीय महाविद्यालयका मदन सुन्दास, देउराली मा.वि.का स.प्र.अ. सरोज मिश्र , गृह पुस्तकालय अभियान गणेशमान चारनाथ नगर संयोजक गोविन्द खड्का, ॐकार टेलिभिजनका जीवनराज दहाल र नारी श्रष्टा समाज महोत्तरीकि अध्यक्ष जमुना पोख्रेलले “पठनसँस्कृतिको सम्बर्द्धन : सम्भावना र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा आआफ्नो विचार ब्यक्त गर्नु भएको थियो ।
अन्तरक्रियामा भाग लिने वक्ताहरूले आजको युगलाई ज्ञान र सूचनाको युग मानिन्छ । जसरी जीवनयापनका लागि अन्न आवश्यक हुन्छ, त्यस्तै बौद्धिक जीवनलाई समृद्ध बनाउन पठन आवश्यक हुन्छ । पठन संस्कृतिले व्यक्तिको सोच, चेतना, मूल्य र व्यवहारमा गहिरो असर पार्छ । समाजमा पठन संस्कृतिको विकास हुनु भनेको सिर्जनात्मक, आलोचनात्मक र विवेकशील पुस्ता तयार हुनु हो भन्ने कुरामा ऐक्यबद्धता जनाए। विद्यालय, महाविद्यालय, विश्वविद्यालय र सामुदायिक पुस्तकालयहरूको सञ्जाल पठन संस्कृतिको आधार बन्न सक्ने कुरामा वक्ताहरूले जोड दिए । पुस्तकालयहरूमा सहज पहुँचले विद्यार्थी र आम नागरिकमा पठनप्रति आकर्षण बढाउँछ। ई–बुक, अनलाइन लेख, शैक्षिक ब्लग, डिजिटल पुस्तकालय आदिले पुस्तक पढ्ने परम्परालाई नयाँ दिशा दिएको छ। यसले समय, स्थान र खर्चको सीमा घटाइदिएको छ। विद्यालयमा “पठन दिवस”, “पढ्ने घण्टा” वा पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्दा बालबालिकामा पठनप्रति रुचि जगाउने सम्भावना छ। “पढ्ने बानी, उज्यालो भविष्य” जस्ता अभियानहरू समाजमा समाजमा सञ्चालन गर्न सके पठनलाई सामूहिक अभ्यास बनाउने आधार तयार गर्न सकिने सम्भावनालाई वक्ताहरूले स्वीकार गरे।
सामाजिक सञ्जाल, भिडियो मनोरञ्जन र छोटा कन्टेन्टप्रतिको मोहले लामो पठन संस्कृतिमा चुनौती खडा गरेको छ। गाउँ–बस्तीमा पुस्तक पाउन गाह्रो हुनु र पुस्तकहरूको मूल्य महँगो हुनुले पनि पठनसँस्कृतिमा अवरोध पुर्याएको छ। विद्यार्थीहरू परीक्षा–केन्द्रित अध्ययनमा मात्र सीमित हुँदा पठन संस्कृतिलाई जीवनशैली बनाउन कठिनाइ हुन्छ। पठनलाई राष्ट्रिय प्राथमिकतामा नराख्दा पुस्तकालय र पठन कार्यक्रमहरू कमजोर बन्दै गएकाले पठनसँस्कृतिको प्रवर्द्धनमा अवरोध पुगेको विचार वक्ताहरूले ब्यक्त गरे ।
पठन संस्कृतिको प्रवर्द्धन सम्भावनाले भरिएको छ तर चुनौतीहरू पनि गम्भीर छन्। यसलाई सबल बनाउन अभिभावक, शिक्षक, पुस्तकालय, राज्य र स्वयं पाठक सबैले योगदान गर्नुपर्छ। पठनलाई केवल शैक्षिक दायित्व नभई व्यक्तिगत विकास र जीवनको निरन्तर अभ्यासका रूपमा लिन सकेमा मात्र सशक्त र सचेत समाज निर्माण हुन्छ। यसका लागि लाइब्रेरी फाउन्डेशन नेपालले सञ्चालन गरेको गृह पुस्तकालय अभियान कोशेढुङ्गा सावित हुने विचार ब्यक्त गर्दै मधेस प्रदेश संयोजक प्रेम घिमिरेले मधेसमा गृह पुस्तकालय अभियानले छोटो समयमा गति लिन सफल बताए ।
कार्यक्रममा मधेस प्रदेशका सिरहा, धनुषा , महोत्तरी , सर्लाही र रौतहटका प्र. अ., शिक्षक, साहित्यकर्मी, गृह पुस्तकालय अभियन्ता, पुस्तकालय ब्यवस्थापक लगायत पत्रकारहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।

