काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने भारत–चीनबीचको सहमति प्रति नेपालले असहमति जनाएको स्पष्ट गरेका छन् ।
शनिबार चीनको तियानजिनस्थित अतिथि गृहमा भएको प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो सहमति नेपालका लागि स्वीकार्य नभएको प्रष्ट रूपमा राखेका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले द्विपक्षीय छलफलका क्रममा लिपुलेक नेपाली भूभाग भएको दोहोर्याउँदै यसलाई अन्य देशले प्रयोग गर्ने गरी गरिने कुनैपनि सम्झौता नेपालको सार्वभौमिकतामा आघात हुने बताएका थिए ।
नेपालले निरन्तर उठाउँदै आएको यो विषयलाई प्रधानमन्त्रीले पुनः जोड दिएपछि नेपाल–चीन उच्चस्तरीय छलफलमा लिपुलेक मुद्दा औपचारिक रूपमा पुनः उठेको छ ।

