लेखक : धनकुमार श्रेष्ठ
महासचिव, नेपाल लाइब्रेरी फाउन्डेसन
नेपालमा आज पुस्तकालयहरूको अवस्था चित्तबुझ्दो छैन। धेरै पुस्तकालयहरू पुस्तक सङ्कलन मात्र गर्ने “डम्पिङ स्थल” जस्ता बनेका छन्। डम्पिङ भन्नाले केवल थुपार्ने काम मात्र हो-जहाँ दाताले दिन चाहे पुग्छ, पुस्तकालयले लिन तत्पर हुन्छ। रेकर्ड राख्ने, छनौट गर्ने वा पाठकलाई आवश्यक पर्ने पुस्तक खरिद गर्ने सोच प्रायः देखिँदैन। फोटो खिचेर हस्तान्तरण देखाउन पुग्छ। तर पुस्तकालय यस्तो डम्पिङ स्थल बन्नु हुँदैन। त्यसैले उत्कृष्ट छनौट पुस्तक मात्र संग्रह गर्ने नीति आवश्यक छ। यसका लागि पाठक र सरोकारवालासँग पुस्तक सर्भे गरेर पुस्तक खरिद योजना बनाउनै पर्छ।
आज हाम्रो पुस्तकालयलाई सदस्य चाहिएको छ, पाठक होइन। सदस्यता भनेको शुल्क तिरेर नाम लेखाउने हो, तर पाठक भनेको पुस्तक पढ्ने हो। पढ्न चाहनेले पुस्तक रोज्नुपर्छ, घरमै लगेर पढ्नुपर्छ। यस्तो अभ्यासमा गिरावट आएको छ। जसलाई साँच्चिकै ज्ञानको तृष्णा छ, ऊ स्वेच्छाले सदस्य बन्छ र पाठक हुन्छ। तर जबरजस्ती सदस्यता वितरण गरेर पैसा सङ्कलन गर्ने चलनले पाठक उत्पादन गर्दैन। त्यसका लागि हामी सबैले “किन पढ्ने, के पढ्ने, कसरी पढ्ने?” भन्ने गहिरो चेतना जगाउनुपर्छ। जब पाठकलाई “म पढ्नैपर्छ” भन्ने बोध हुन्छ, तब मात्र ऊ पुस्तकालयतर्फ आकर्षित हुन्छ।
आज फेसबुकमा “सदस्यतामा छुट” भन्ने सूचना राखे भिड लाग्छ, तर “राम्रा पुस्तक आएका छन्” भन्ने सूचना देख्दा पाठक पुग्दैनन्। “भव्य कार्यक्रम छ, बोल्न पाइन्छ” भन्यो भने मानिसहरू आउँछन्, “राजनीतिक बहस” भन्यो भने अझ बढी भीड हुन्छ। तर, “यो पुस्तक पढेर आउनुहोस्, अनुभव साझा गरौं” भन्यो भने बहानाबाजी सुरू हुन्छ।
पुस्तकालय दिवसको बेला धेरै संस्थाले मञ्च बनाउँछन्। तर त्यहाँ बोल्नेहरू “पठनसंस्कृति खस्कियो, मोबाइलले खत्तम पार्यो” भनेर चर्को स्वरमा बोल्छन्। तर, आफू मोबाइलप्रेमी भएको, पुस्तक नपढेको वा घरमा पुस्तक नभएको स्वीकार गर्ने साहस देखिँदैन।
साँचो कुरा के हो भने-पठनसंस्कृति खस्कनुमा हामी सबै दोषी छौं। पुस्तकालयलाई अध्ययन थलो होइन, प्रचार र गफको थलो बनाउने हामी आफैं हौं। घरमा पुस्तक नहुने, तर “पुस्तकालय चाहिन्छ” भन्ने सोचको अभाव हामी सबैको समस्या हो। त्यसैले हामीले आफूलाई सच्याएर मात्रै सुधार सम्भव छ।
बालबालिकालाई स्मार्टफोन त दिन्छौं, तर पाठक बन्ने वातावरण घरमै सिर्जना गर्दैनौं। शिक्षक र गुरुजन स्वयं पुस्तकालय नछिर्ने, विद्यार्थीलाई पुस्तकालय लैजान वातावरण नबनाउने-यसरी पठनलाई लत्याउनेहरू पनि हामी नै हौं।
अब यसो गरौं :
१. विद्यालय पुस्तकालय नीति :
विद्यालय पुस्तकालयलाई नियमित सञ्चालन गर्ने नीति शिक्षा मन्त्रालयको पुस्तकालय समन्वय शाखाले तयार पारेर मन्त्रीस्तरबाट पारित गरी अनिवार्य रूपमा लागू गरौँ।
२. रुग्ण पुस्तकालय सर्वेक्षण :
दर्ता भएर पनि नवीकरण नभएका, बन्द वा धिमे भएका सामुदायिक/सार्वजनिक पुस्तकालयहरूको देशव्यापी आधारभूत सर्वेक्षण गरौँ। यसमा शिक्षा मन्त्रालयले अगुवाइ गरोस् र नेपाल लाइब्रेरी फाउन्डेसनलाई जिम्मा दिन सकियो भने निष्पक्ष र तथ्यगत डाटा तयार गर्न सहयोग पुग्छ।
३. स्वचालित र परनिर्भर पुस्तकालय मूल्याङ्कन :
यस्तै ढाँचाका पुस्तकालयहरूको पनि सर्वेक्षण गरौँ। नतिजाको आधारमा शिक्षा मन्त्रालयको पुस्तकालय समन्वय शाखाले सामुदायिक/सार्वजनिक पुस्तकालयको दिगो विकासका लागि स्पष्ट सुझाव मन्त्रीस्तरमा पेश गरोस्।
४. गृहपुस्तकालय नीति :
“एक घर-एक अध्ययन कुनो” को अवधारणा लागू गरौँ। नयाँ घर नक्सा पास गर्दा अनिवार्य रूपमा पढाइ कुनो वा गृहपुस्तकालय राख्नुपर्ने नीति तीन तहका सरकारले पारित गरोस्।
५. सम्मानको व्यवस्था :
पठनसंस्कृति प्रवर्द्धनमा लामो समयदेखि लागेका अभियानकर्मी, पुस्तकालय स्थापना वा विस्तारमा योगदान दिने संस्थालाई पुस्तकालय दिवसकै अवसरमा राष्ट्रले सम्मान गर्ने नीति बनाऔँ।
६. पठन आदर्श व्यक्तित्व पुरस्कार :
सामाजिक सञ्जाल वा विभिन्न माध्यममार्फत पुस्तकालय-पुस्तक-पाठकबीच समन्वयकारी भूमिका खेल्ने व्यक्तिलाई छानेर सम्मान गर्ने प्रावधान गरौँ।
७. पढ्ने बानीलाई प्रोत्साहन :
वर्षभरी धेरैपटक पुस्तकालय पस्ने, धेरै पुस्तक पढ्ने, आफ्नै घरमा पुस्तकालय खोली छिमेकीलाई समेत पढ्न प्रेरित गर्नेलाई पुस्तकालय दिवसमा पुरस्कृत गरौँ।
८. रुग्ण पुस्तकालयलाई पुनर्जीवन :
निभ्न लागेका वा निभिसकेका पुस्तकालयलाई छानबिन गरी आवश्यक “तेल र इताल” थपेर पुनः सक्रिय बनाऔँ।
निष्कर्ष:
अठारौँ पुस्तकालय दिवसमा अब हामीलाई केवल भाषण, खोक्रो प्रतिबद्धता वा उधारो वचन चाहिएको छैन। हामीले सुनिन चाहेको कुरा हो—
* पुस्तकालय कानूनको मस्यौदा संसदमा पेश गर्ने ठोस योजना,
*पुस्तकालय राहत कोष खडा गर्ने प्रत्यक्ष घोषणा, र सबै पुस्तकालयलाई समान दृष्टिले हेर्ने व्यावहारिक नीति।
मलाई लाग्छ यी साझा समस्याहरू हुन् जसलाई हामी सबैको साझा प्रयत्नबाट समाधान गर्न बल मिल्छ।
जय अठारौँ पुस्तकालय दिवस!

