काठमाडौं, पुस ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत भएका छन्। बुधबारको बैठकमा प्रस्तुत भएका चार अध्यादेश बहुमतले स्वीकृत भएका हुन्।
गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सूचना तथा सञ्चार, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गर्नुभएका अध्यादेश स्वीकृत भएका हुन् ।
बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन),२०७८’, ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’, ’समाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ’रेवले अध्यादेश, २०७८’ स्वीकृत भएका हुन्।
बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गर्नुभएकाे थियो तर सो प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै चारै विधेयक प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभयो ।प्रतिनिधिसभाको अर्को बैठक यही पुस १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

