निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । निर्वाचन आयोगले काभ्रेको धुलिखेलमा सुरु भएको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी पत्रकार महिलाहरुसँग कार्यशाला गोष्ठि’मा बोल्दै थपलियाले अहिलेको जनप्रतिनिधिहरुको पाँच वर्षे अवधि पूरा हुँदै गरेको कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटा नै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आगोग जुटिरहेको बताएका हुन् ।
स्थानीय सरकार रिक्त रहने विषय कल्पना समेत गर्न नसकिने र उहाँहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएको कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्नको लागि ताजा जनादेशका साथ समयमा नै जनप्रतिनिधिहरु दिने विषयमा आयोग गम्भीर रहेको बताए ।
गोष्ठीमा छापा र टेलिभिजन लगायतका सञ्चारमाध्यममा कार्यरत २६ जना पत्रकार महिलाहरुको सहभागिता छ ।
