काठमाडौँ, पुस ९ गते । निर्वाचन आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन देशभरी एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण बैशाख २२ गते बिहीबारका दिन गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने बताउनुभयो । उहाँले छलफलमा सहमति भएर स्थानीय तहको चुनाबको मिति तोक्ने बताउनुभयो ।
प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार भएको छलफलमा आयोगले आफ्नो गतिविधिबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यहरुलाई जानकारी गराएको थियो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ ले निर्वाचन आयोगले सिफारिश गरेको मितिमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने ब्यवस्था गरेको छ । कानुनी ब्यवस्थाबारे छलफलपछि प्रधानमन्त्री देउवाले आयोगको सिफारिशमा सरकारले मिति तोक्न सहमत हुनुभएको प्रवक्ता पौडेलले बताउनुभयो ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन एकै चरणमा एकै दिन गर्दा उपयुक्त हुने धारणा राख्नुभएको थियो । उहाँले त्यसो गर्दा खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने, मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुने तथा एक ठाउँको निर्वाचनको परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने तर्क गर्नुभएको थियो ।
