ललितपुर ।
दन्त स्वास्थ्यलाई उपेक्षित होइन, समाज परिवर्तनकै मूल आधार भन्दै ॐ समाज डेन्टल हस्पिटलले आइतबार (२०८२ भदौ १६ गते) ललितपुरको चापागाउँ दोबाटोमा आफ्नो पाँचौँ शाखा विस्तार गरेको छ। भव्य उद्घाटन समारोहमा स्थानीयबासी, पत्रकार, कलाकार, समाजसेवीदेखि जनप्रतिनिधिसम्मको असाधारण भीडले कार्यक्रमलाई ऐतिहासिक बनाएको थियो।
उद्घाटन समारोहका प्रमुख अतिथि, चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष तथा चर्चित कलाकार मोहन निरौलाले दन्त स्वास्थ्यलाई बेवास्ता गर्ने पुरानो सोच तोड्दै अस्पतालले समाजमा नयाँ दृष्टिकोण स्थापित गरेको बताए। “स्वास्थ्य भनेको सम्पत्ति हो, तर हामीले दाँतलाई स्वास्थ्यको मुख्य आधारका रूपमा हेर्ने बानी बसालेका छैनौँ। यो अस्पताल स्थापना हुनु भनेको हाम्रो सोच परिवर्तन गर्ने ऐतिहासिक कदम हो,” निरौलाले भने।
विशेष आकर्षण बनेका नेपालकै ख्यातिप्राप्त दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेले दन्त स्वास्थ्यलाई सम्पूर्ण शरीरको मेरुदण्डका रूपमा प्रस्तुत गरे।
उनका अनुसार, “दाँत बिग्रनु भनेको केवल मुखमा समस्या आउनु मात्र होइन, हृदयदेखि मिर्गौलासम्म रोग फैलिन सक्ने खतरनाक सुरुवात हो। त्यसैले दन्त स्वास्थ्यलाई सामान्य सरसफाइ होइन, सम्पूर्ण जीवनको आधारस्तम्भका रूपमा बुझ्नुपर्छ।”
डा. घिमिरेले पाँचौँ शाखालाई केवल उपचार केन्द्र नभई “समाजलाई सचेत बनाउने अभियान” का रूपमा व्याख्या गरे। उनले विद्यालयदेखि समुदायसम्म सचेतना फैलाउने योजना अघि सारेका छन्। साथै, अत्याधुनिक उपकरण, नवीनतम प्रविधि र दक्ष जनशक्ति उपलब्ध भएको भन्दै यसलाई स्वास्थ्य क्षेत्रमा उदाहरणीय मोडलका रूपमा चिनाए।
कार्यक्रममा बोल्दै अन्य कलाकार, पत्रकार र समाजसेवीहरूले पनि यस संस्थालाई “समाजकै लागि आशीर्वाद” भन्दै प्रशंसा गरे। बरिष्ठ पत्रकार तथा समाजसेवी राजन थापाले उद्घाटन समारोहलाई संयोजन गर्दै भने,
“दन्त स्वास्थ्य केवल अस्पतालको जिम्मेवारी होइन, समाजकै सामूहिक दायित्व हो। हरेक परिवार, विद्यालय र समुदाय यसमा सहभागी हुनुपर्छ।”
कार्यक्रमको वातावरण उत्साह, उमङ्ग र स्वास्थ्यप्रतिको जागरणले भरिएको थियो। सहभागीहरूका अनुसार, यो उद्घाटन केवल औपचारिकता नभई दन्त स्वास्थ्यलाई जनआन्दोलनमा रूपान्तरण गर्ने महत्त्वपूर्ण कदम बनेको छ।

