उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यी पसलहरू सञ्चालन गर्नेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न भागमा १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले ३८ स्थानमा यस्ता पसलहरू खोल्ने भएको छ । यी पसलहरूबाट विभिन्न खाद्यान्न वस्तुहरूमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट उपलब्ध हुने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।
‘मन्त्रालयबाट निर्णय भइसकेको छ । भदौ ३० गतेदेखि नै पसलहरू सञ्चालनमा आउनेछन् । उपभोक्ताले छुट मूल्यमा खाद्यान्न खरिद गर्न सक्नेछन्,’ थापाले भने । कम्पनीले साउन २६ गते मन्त्रालयमा छुट मूल्य र सञ्चालन स्थानसहितको प्रस्ताव पठाएको थियो, जसलाई भदौ ८ गते मन्त्रीस्तरबाट स्वीकृति दिइएको हो ।
प्रदेशगत रूपमा सुपथ मूल्य पसलहरूको स्थान यस प्रकार छ :
कोशी प्रदेश (११ स्थान) : झापाको मुख्य शाखा कार्यालय बिर्तामोड, ताप्लेजुङ शाखा कार्यालय, मोरङको प्रादेशिक कार्यालय विराटनगर, भोजपुर शाखा कार्यालय, संखुवासभा शाखा कार्यालय र हटियागोला बिक्री केन्द्र (भोटखोला गाउँपालिका), सोलुखुम्बु शाखा कार्यालय, ओखलढुंगा शाखा कार्यालय र कालिका खरिद बिक्री केन्द्र (चम्पादेवी गाउँपालिका), तथा खोटाङ शाखा कार्यालय ।
मधेस प्रदेश (३ स्थान) : सिरहाको मुख्य शाखा कार्यालय लहान, धनुषाको प्रादेशिक कार्यालय जनकपुर, र पर्साको शाखा कार्यालय वीरगञ्ज ।
बागमती प्रदेश (५ स्थान) : काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ दक्षिणकाली बिक्री केन्द्र, ललितपुरको नख्खु खाद्य गोदाम, तथा रसुवाको धुन्चे सदरमुकाम ।
गण्डकी प्रदेश (७ स्थान) : कास्कीको बिरौटा बिक्री केन्द्र, तनहुँको विमलनगर बिक्री केन्द्र, गोरखा शाखा कार्यालय र डिपो कार्यालय सिर्दिबास, लमजुङको सुन्दरबाजार खरिद बिक्री केन्द्र, मनाङ शाखा कार्यालय, तथा मुस्ताङ शाखा कार्यालय ।
लुम्बिनी प्रदेश (१५ स्थान) : रुपन्देहीमा भैरहवा र बुटवल हाटबजार, बाँकेको मुख्य शाखा कार्यालय नेपालगञ्ज, दाङको मुख्य शाखा कार्यालय तुलसीपुर, बर्दियाको मुख्य शाखा कार्यालय राजापुर, रोल्पाको शाखा कार्यालय लिवाङ, गुल्मीको शाखा कार्यालय तम्घास र बलेटक्सार बिक्री केन्द्र, रोल्पामा पतलाचौर खरिद बिक्री केन्द्र (परिवर्तन गाउँपालिका), घर्तीगाउँ खरिद बिक्री केन्द्र (माडी), सुलीचौर खरिद बिक्री केन्द्र र बडाचौर खरिद बिक्री केन्द्र, तथा रुकुमपूर्व शाखा कार्यालय ।
कर्णाली प्रदेश (४२ स्थान) : सुर्खेतमा सिम्ता खरिद बिक्री केन्द्र, चौकुने खरिद बिक्री केन्द्र र पञ्चपुरी खरिद बिक्री केन्द्र; जाजरकोटमा शाखा कार्यालय जाजरकोट, दसेरा डिपो, घोगी डिपो, नायक वडाघाट, चौखा डिपो, रजुतारा बिक्री केन्द्र, कालीमाडी खरिद बिक्री केन्द्र; जुम्लामा शाखा कार्यालय जुम्ला र धापा डिपो; मुगुमा शाखा कार्यालय मुगु, डिपो सोरुकोट, डिपो पुलु र श्रीकोट डिपो; दैलेखमा शाखा कार्यालय दैलेख, नौमुले बजार खरिद बिक्री केन्द्र (नौमुले), घोडाबास खरिद बिक्री केन्द्र, वेस्तडा बिक्री केन्द्र (भगवतीमाई), राकम खरिद बिक्री केन्द्र; डोल्पामा शाखा कार्यालय दुनै, जुफाल डिपो, सर्मी डिपो, काईगाउँ त्रिपुराकोट बिक्री केन्द्र, साल्दाङ बिक्री केन्द्र, धो बिक्री केन्द्र, काककोट बिक्री केन्द्र; रुकुमपश्चिममा शाखा कार्यालय रुकुमपश्चिम; कालीकोटमा शाखा कार्यालय कालीकोट, डिपो खल्लागाड, डिपो पादमघाट, डिपो थिर्पू, भैसासैना खरिद बिक्री केन्द्र, कुमालगाउँ र आरसीपी बजार खरिद बिक्री केन्द्र; हुम्लामा शाखा कार्यालय हुम्ला, डिपो श्रगर, सर्केगाढ डिपो र यलवाङ बिक्री केन्द्र (नाम्खा) ।
सुदूरपश्चिम प्रदेश (२८ स्थान) : बझाङमा शाखा कार्यालय बझाङ, दौलीचौर खरिद बिक्री केन्द्र, थलारा खरिद बिक्री केन्द्र, भातेखोला र तलकोट खरिद बिक्री केन्द्र; कैलालीको धनगढी; डडेलधुराको खलंगा बजार; कन्चनपुरको शाखा कार्यालय महेन्द्रनगर; डोटीको खलंगा बजार र मौवानगर खरिद बिक्री केन्द्र; बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र; बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद बिक्री केन्द्र; दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्र; अछामको शाखा कार्यालय मंगलसेन, सैनाबजार, साफेबगर र कमल बजार खरिद बिक्री केन्द्र ।
साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गर्ने सुपथ मूल्य पसलहरूको स्थान यस प्रकार छ :
काठमाडौँ उपत्यकामा कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर सल्लाघारी, कौशलटार काँडाघारी, इमाडोल र महाराजगञ्ज; तीनवटा घुम्ती पसल; झापाको विर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगञ्ज; नुवाकोटको त्रिशूली, मकवानपुरको हेटौँडा, चितवनको नारायणगढ, कास्कीको पोखरा, बागलुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङ, डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, काभ्रेको धुलिखेल, सुर्खेत, बैतडीको पाटन, बाँके नेपालगञ्ज ।
सुपथ मूल्य पसलमा उपलब्ध छुटहरू यस प्रकार छन् : खाद्य व्यवस्था कम्पनीबाट सञ्चालन हुने पसलहरूमा सबै किसिमका चामलमा प्रतिकिलो ५ रुपैयाँ, गहुँ दाना, चिनी, सबै किसिमका दाल र चना, भटमास, केराउ समेतका गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ, चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ, जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, खाने तेल (तोरी, सनफ्लावर र भटमास) मा प्रतिलिटर ७ रुपैयाँ, तथा रैथाने खाद्यवस्तु (कर्णालीको सिमी, फापर दाना, चिनो, कागुनो, उवा, जुम्ली मार्सी तथा बासमती) मा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ ।
साल्ट ट्रेडिङबाट सञ्चालन हुने पसलहरूमा नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट उपलब्ध हुनेछ ।

