अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणबारे ४ बुँदे सहमति
काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया व्यवस्थित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच ४ बुँदे सहमति भएको छ ।
नेपाल पत्रकार महासंघले पेश गरेको ज्ञापनपत्रबारे मन्त्रालयका सचिव, महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीबीच छलफल भएपछि सहमति गरिएको हो ।
सहमति अनुसार, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ बमोजिम दर्ता भएका सञ्चारमाध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र (पौष मसान्तसम्म) आफ्नो दर्ता नवीकरण गर्नुपर्ने व्यवस्था यथावत रहनेछ ।
त्यस्तै, अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको काम निरन्तर गर्ने र मन्त्रालयमार्फत आवश्यक पत्राचार गर्ने सहमति भएको छ । सूचना तथा प्रसारण विभागले पनि सोही अवधिअनुसार प्रेस प्रतिनिधि प्रमाणपत्र जारी गर्नेछ ।
छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को प्रावधानलाई आधार मानेर तयार गरिएको छापाखाना तथा प्रकाशनसम्बन्धी (दोश्रो संशोधन) नियमावली, २०८२ लाई आगामी १५ दिनभित्र स्वीकृत गर्न मन्त्रालय पहल गर्ने सहमति भएको छ । नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि प्राप्त आवेदन सूचना तथा प्रसारण विभागले क्रमसंख्यासहित संकलन गर्ने व्यवस्था गरिएको छ ।

