नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता शेखर कोइराला स्वत: केन्द्रीय सदस्य भएका छन्।
कांग्रेसको विधानले नै सभापति पछि सबैभन्दा बढी मत ल्याउने दोस्रो व्यक्ति कार्यसमितिको स्वत: सदस्य रहने व्यवस्था गरिदिएको छ।
विधानको यही व्यवस्थाअनुसार कोइराला केन्द्रीय सदस्य भइसकेका छन्। देउवा २७३३ मतसहित सभापति निर्वाचित भएका थिए भने कोइरालाले १८५५ मत ल्याएका थिए।
कांग्रेसका वडादेखि केन्द्रसम्मका सबै संरचनामा निर्वाचित सभापतिभन्दा कम मत प्राप्त गरेको व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ।
सभापति देउवाले अब केन्द्रीय समितिमा ३३ जना मनोनित गर्न सक्छन्। कांग्रेस विधानको धारा २१ को १० मा लेखिएको छ, ‘कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ’ भन्ने उल्लेख छ।
यसपालि केन्द्रीय समितिमा पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सभापतिमा पराजित विमलेन्द्र निधि, प्रकाशमान सिंह, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित प्रकाशशरण महत, मीनेन्द्र रिजाल, प्रदीप पौडेललगायत पनि पर्ने सम्भावना छ। कांग्रेस नेता बालकृष्ण खाणले सभापति देउवाले सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्।

