काठमाण्डौ। इङ्ल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट म्याचमा भारतले दोस्रो दिनको समाप्तिमा ५२ रनको अग्रता लिएको छ।
ओभलमा जारी खेलमा भारतले पहिलो दिन २२४ रन बनाएको थियो।
दोस्रो दिन इङ्ल्यान्डले ५१.२ ओभरमा सबै विकेट गुमाएर २४७ रन जोड्न सफल भएको हो।
उसका लागि ज्याक क्रलेले सर्वाधिक ६४ र ह्यारी ब्रुकले ५३ रन बनाए। भारतका बलरहरूमध्ये मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान चार-चार विकेट लिएर इङ्ल्यान्डको इनिङ्स धराशायी बनाए।
भारतले हिजो नै सुरु गरेको दोस्रो इनिङ्समा दुई विकेट गुमाएर ७५ रन बनाएको छ। हाल क्रिजमा यशस्वी जैसवाल (५१ रन) र साइ सुदर्शन (११ रन) रहेका छन्। आज भारतले यहीँबाट आफ्नो इनिङ्स अगाडि बढाउनेछ। आजको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।
पाँच खेलको यो शृङ्खलामा इङ्ल्यान्ड २-१ ले अगाडि छ भने चौथो टेस्ट बराबरीमा टुङ्गिएको थियो।
शृङ्खला बराबरी गर्नका लागि भारतलाई यो अन्तिम टेस्ट जित्नै पर्ने दबाब छ।

