काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित भए पनि मुख्यमन्त्रीको पद सम्हालिरहेका लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामा दिन तयार भएका हुन्।
बुधबार सभापति देउवाले लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए। लामा निकट सांसद तीर्थ लामाका अनुसार, देउवासँगको थप छलफलपछि आज वा भोलि बिहानसम्म राजीनामा दिने तयारी छ।
यो निर्णयभन्दा अगाडि देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि कांग्रेसभित्रको विवादबारे बालुवाटारमा छलफल भएको थियो। स्रोतका अनुसार, लामा आफ्नो समूहको सरकारमा सम्मानजनक सहभागिताका विषयमा छलफल गरिरहेका छन्।
मुख्यमन्त्रीबाट लामाको राजीनामापछि इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ।

