काठमाण्डौ — भारतको चर्चित तटीय पर्यटक क्षेत्र गोवामा अवस्थित एक नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा २३ जनाको मृत्यु भएको छ। क्लबको भान्सास्थित ग्यास सिलिन्डर विस्फोट भएपछि आगो तीव्र रुपमा फैलिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
भारतीय प्रहरीका अनुसार ‘बर्च बाई रोमियो लेन’ नामक उक्त क्लबको भुईँतल्लाको भान्सा क्षेत्रबाट आगो सुरु भएको थियो। घटनास्थलमै धेरै शव फेला परेपछि प्रारम्भिक अनुमानभन्दा क्षति ठूलो रहेको अधिकारीहरूले बताएका छन्।
गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार, मृतकमध्ये धेरैजसो क्लबका कर्मचारी रहेका छन् भने केही विदेशी तथा भारतीय पर्यटकसमेत परेका छन्। मध्यराततिर भएको विस्फोटका कारण आगो तीव्र गतिमा फैलिएको र नियन्त्रणमा लिन निकै समय लागेको प्रहरीले जनाएको छ।
घटनाबारे थप छानबिन भइरहेको जनाइएको छ।

