काठमाडौँ — उत्तरपश्चिम क्यानडामा शनिबार दिउँसो भूकम्प गएको छ । गएको भूकम्प ७ म्याग्निच्युडको रहेको जनाईएको छ । सो शक्तिशाली भूकम्पले देशभर चासो बढाएको छ। स्थानीय समय अनुसार दिउँसो १:४१ बजे आएको यो भूकम्प पछिल्ला ७९ वर्षयता क्यानडामा मापन भएको सबैभन्दा ठूलो कम्पन मानिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रबिन्दु युकोन स्थित ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिम रहेक ो थियो। करिब १० किलोमिटर गहिराइमा उत्पन्न भूकम्पपछि लगातार पराकम्पनहरू महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको हो।
हालसम्म क्षतिको कुनै आधिकारिक विवरण आएको छैन। तर ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमार्फत घर–भित्ताका सामान हल्लिएको र कम्पन तीव्र भएको अनुभूति सुनाएका छन्।
यो भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्डमा गएको ७+ म्याग्निच्युड पछिको क्यानडाको भूमिमा मापन भएको सबैभन्दा शक्तिशाली कम्पन भएको अधिकारीहरूले जनाएका छन्। क्यानडाको इतिहासमा भने सबैभन्दा ठूलो भूकम्प १७०० जनवरीमा भएको ९ म्याग्निच्युड मानिन्छ, जसको केन्द्रबिन्दु ब्रिटिस कोलम्बियाको समुद्रतट बाहिर थियो।
शनिबारको भूकम्प उच्च भूकम्पीय जोखिम रहेकै क्षेत्रमै गएको भूवैज्ञानिकहरूको विश्लेषण बताउँछ। अर्थक्वेक्स क्यानडा ले २०१५ मा गरेको अध्ययनले समेत यस्तै ठूलो कम्पनको सम्भावनाबारे पहिले नै चेतावनी दिएको थियो।

