धादिङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
धादिङ उद्योग वाणिज्य संघद्वारा आयोजित १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा बिहिबार प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको यो आयोजना अब ढिलाइ नगरी कार्यान्वयनमा जानुपर्नेमा जोड दिए।
उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको सहभागितामा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको उल्लेख गर्दै आयोजनामा स्रोतको अभाव भए निजी क्षेत्रबाट उक्त कम्पनीमार्फत लगानी गर्न तयार रहेको बताए।
अध्यक्ष ढकालले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै जलविद्युतको विकासले खनिज, कृषि उत्पादन र अन्य व्यवसायिक सम्भावनालाई समेत उजागर गर्न सहयोग पुग्ने बताए। धादिङ जिल्लामा रहेका खनिज, कृषि तथा अन्य सम्भावनायुक्त क्षेत्रहरूमा लगानी गर्न एनडीपी तयार रहेको पनि उनले स्पष्ट पारे।
निजी क्षेत्रले कुनै पनि आयोजना तोकेको समय, गुणस्तर र बजेटभित्रै सम्पन्न गर्ने क्षमता राख्ने उल्लेख गर्दै उनले गत भदौको जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, होटल तथा व्यावसायिक प्रतिष्ठानमा क्षति पुगे पनि धेरैजसो व्यवसाय पुनः सञ्चालनमा आइसकेको बताए।
निजी क्षेत्रमाथि भएका धरपकड र आक्रमणले उद्यमीहरू भयभीत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले उत्पादन, पूर्वाधार निर्माण, सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्व योगदान दिँदै आएको भए पनि उपेक्षा भइरहेको गुनासो गरे।
उनले स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवहरूले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई महासंघले प्राथमिकतामा राख्दै आएको जानकारी दिए। यसले स्थानीय आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनामा सहयोग पुग्ने उनको भनाइ थियो।

