चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदरमा परिवर्तन गरेका छन्। नयाँ ब्याजदर तालिका अनुसार केही बैंकले ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन्, र कतिपयले स्थिर राखेका छन्।
बचत खाताको ब्याजदर अधिकांश बैंकमा स्थिर रहेको छ। एभरेस्ट बैंकले ०.०५ प्रतिशत विन्दुले बढाएर ३.०५ प्रतिशत र सिद्धार्थ बैंकले ०.०१ प्रतिशत विन्दुले घटाएर ३.०४ प्रतिशत तोकेको छ। अन्य बैंकहरूमा यो दर ३ देखि ३.१० प्रतिशतको बीचमा छ।
व्यक्तिगत मुद्दती निक्षेपमा ८ बैंकले समायोजन गरेका छन्। कुमारी बैंकले ०.१०, एनएमबि, एनआईसी एशिया, हिमालयन र नबिल बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन्। माछापुच्छ्रे बैंकले ०.५०, सानिमा बैंकले ०.३० र नेपाल बैंकले ०.२० प्रतिशत विन्दुले घटाएका छन्। यो खातामा सबैभन्दा उच्च ब्याजदर प्राइम कमर्सियल बैंकको ६ प्रतिशत र सबैभन्दा कम नेपाल बैंकको ४ प्रतिशत छ।
संस्थागत मुद्दती निक्षेपमा ७ बैंकले परिवर्तन गरेका छन्। राष्ट्रिय वाणिज्य बैंक, एनएमबि र एनआईसी एशिया बैंकले ०.२५ तथा कुमारी बैंकले ०.२६ प्रतिशत विन्दुले बढाएका छन्। हिमालयन बैंकले ०.२५, लक्ष्मी सनराइजले ०.५० र सिटिजन्स बैंकले ०.६५ प्रतिशत विन्दुले घटाएका छन्।
कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने अधिकांश खाताको ब्याजदर स्थिर राखेका छन्।
बैंकहरूले आ–आफ्नो रणनीति अनुसार ब्याजदर निर्धारण गरेको देखिन्छ। ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार उपयुक्त बैंक छनोट गर्न सक्नेछन्।

