बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्नका लागि सरकारले सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट) कम्पनी खोल्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो कम्पनी स्थापना गर्ने जनाएको हो । त्यस्तै, डिजिटल बैंक स्थापना, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनःसंरचनालगायतका विषयहरू पनि नीति तथा कार्यक्रममा अटाएका छन् ।
“दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिनेछ । बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ, “सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ । नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैङ्क स्थापना गरिनेछ ।” धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमहरूबिच समन्वय गरिने जनाइएको छ । “सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गरिनेछ । बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ, “भौतिक सम्पत्ति बिमा प्रवर्द्धन गर्दै बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइनेछ । ग्रामीण तथा निम्न आय वर्गलाई बिमामा समेट्न बिमा साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।”

