काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्दै सहज जित निकालेको हो।
चितवनले लगातार दोस्रो जितको खोजी गरेको थियो, तर लुम्बिनीले बलियो प्रदर्शन गर्दै त्यसमा बाधा पुर्यायो। चितवनले यसअघि सिजनको दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै आत्मविश्वास बनाएको थियो।
यस खेलमा चितवनका रवि बोपाराले उत्कृष्ट ब्याटिङ गरे। उनले ५५ बलमा ४ चौका र ३ छक्काको मद्दतले ६६ रनको योगदान दिए। तर उनको अर्धशतक पनि टिमलाई हारबाट जोगाउन असफल रह्यो। बोपारा यस सिजनमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
लुम्बिनीको जितमा गुलबदिन नैबले सर्वाधिक अविजित ४४ रन बनाए। २४ बलमा ३ चौका र ३ छक्कासहित उनको आक्रामक इनिङले टिमलाई लक्ष्य नजिक पुर्यायो। कप्तान रोहित पौडेलले सम्हालिएको ३९ रन जोडे भने ओपनर सन्दीप जोराले १८ बलमा २८ रन योगदान दिए, जसमा ४ चौकासमेत थिए।

