काठमाडौं — सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश अघि बढाउने सम्बंधमा औपचारिक सहमति जनाएको हो।
बैठकले विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन डलर सहुलियतपूर्ण ऋण लिने विषयमा वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।
यसबाहेक, सरकारको अर्को महत्वपूर्ण निर्णयमा जल तथा मौसम विज्ञान विधेयक तर्जुमा गर्न सिद्धान्ततः स्वीकृति प्रदान गरिएको छ।
सुरक्षा क्षेत्रतर्फ, नेपाली सेनाका दुई जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरिएको छ। साथै ल्याण्ड फोर्स टकको छैटौं बैठक आगामी मंसिर ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना गर्न स्वीकृति प्रदान गरिएको मन्त्रालयले जनाएको छ।



