अनलाइन ठगी बढ्दै, काठमाडौं प्रहरीकाे सात बुँदे सावधानी अनुरोध
काठमाडौँ — पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगीका घटनामा तीव्र वृद्धि भएको भन्दै काठमाडौं प्रहरीले सात बुँदे सावधानी अपनाउन नागरिकलाई अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई प्रलोभनपूर्ण संदेश, चिठ्ठा पर्दाे जानकारी तथा अज्ञात व्यक्तिसँगको अनलाइन सम्पर्कबाट विशेष सतर्क रहन आग्रह गरेको हो।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, इन्स्टाग्रामलगायत माध्यम प्रयोग गरी “चिठ्ठा परेको छ, रकम दर्ता गर्नुहोस्” भनेर पैसा झिकाउने, सरकारी राजस्व तिर्नुपर्ने भन्दै प्रलोभनमा पार्नेजस्ता ठगीका घटना दैनिकजसो दोहोरिने गरेका छन्। उनले यस्ता सन्देशप्रति कुनै विश्वास नगर्न र अज्ञात व्यक्तिसँग व्यक्तिगत वा वित्तीय विवरण नबाँड्न आग्रह गरे।
सार्वजनिक सूचनामा अनलाइनमार्फत सामान खरिद गर्दा आधिकारिक विक्रेता पहिचान गरी मात्र रकम भुक्तानी गर्न तथा अघिल्लो भुक्तानी (advance payment) गर्दा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। नगद कारोबारमा पनि जिम्मेवारीपूर्वक व्यवहार गर्न प्रहरीको अनुरोध छ।
प्रवक्ता भट्टराईले पछिल्लो समय अपरिचित नम्बरबाट भिडियो कल गरी त्यसलाई रेकर्ड गरेर अश्लील सामग्री बनाइ ब्ल्याकमेल गर्ने घटनामा वृद्धि भएको भन्दै, यस्तो जोखिमबाट जोगिन अपरिचित कल तुरुन्त ब्लक वा रिपोर्ट गर्न सुझाव दिए।

