काठमाडौं । देशभर चर्चामा रहेको जेन–जी आन्दोलन र नवगठित नेपाली कम्युनिस्ट पार्टीबीच समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित महत्वपूर्ण छलफल आउँदो शनिबार हुने भएको छ। राजनीतिक रूपान्तरण, युवापुस्ताका माग, सुशासन तथा आर्थिक–सामाजिक सुधारका एजेन्डालाई केन्द्रमा राखेर दुवै पक्षबीच विस्तृत बहस हुने बताइएको छ।
पार्टी स्रोतका अनुसार छलफल काठमाडौंमा आयोजना हुने छ, जसका लागि तयारी तीव्र पारिएको छ। जेन–जी आन्दोलनले उठाउँदै आएको पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारीका अवसर, राज्यका संरचनागत सुधार तथा युवामैत्री नीतिहरूलाई नेपाली कम्युनिस्ट पार्टीले कसरी सम्बोधन गर्ने भन्ने विषय बैठकको मुख्य एजेन्डा हुनेछ।
छलफलमा प्रमुख अतिथि रूपमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन्। कार्यक्रमको आयोजना वाईसीएल नेपाल केन्द्रीय समितिद्वारा गरिएको हो।
आगामी ६ गते शनिबार हुने यो संवादले जेन–जी आन्दोलन र वाम आन्दोलनबीच सहकार्यका नयाँ सम्भावनामा मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

