काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभा फेस गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि यादव संसद् फेस गर्न बाध्य भएका हुन्।
अदालतले विश्वासको मत नपाएमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रियामा अघि बढ्न प्रदेश प्रमुखलाई आदेश दिएको छ।
मुख्यमन्त्री यादवले आदेश प्राप्त भएको र गठबन्धन विस्तारका लागि अन्य दलसँग छलफल जारी रहेको बताए। तर हालको अंकगणितमा उनले विश्वासको मत पाउने अवस्था कमजोर देखिएको छ।
यादव कुनै पनि दलसँग अन्तिम घडीसम्म सहकार्यका सम्भावना खोज्दै संसद् बैठक चाँडै बोलाउन आग्रह गर्ने तयारीमा छन्। तर मुख्य विपक्षी एमालेका प्रदेश प्रमुख सचेतक हरिनारायण महतोले विश्वासको मत नपाइने प्रष्ट संकेत दिँदै यादवलाई राजीनामा दिन सुझाव दिएका छन्। आफूहरूलाई यस विषयमा कुनै आधिकारिक छलफल नभएको पनि उनले बताए।
उप–सभामुख बबिता कुमारी राउतले विश्वासको मत प्रक्रियाबारे जानकारी नआएको बताउँदै दलभित्र छलफल चलिरहेको उल्लेख गरिन्।
विपक्षी गठबन्धनसँग ७४ सांसद छन् भने यादवसँग एमालेका २४ सहित जम्मा २६ मत मात्र छन्। विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ। विपक्षी मोर्चाका कुनै दलले अप्रत्याशित रूपमा एमालेसँग हात नमिलाउने हो भने मुख्यमन्त्री यादव पदमुक्त हुने लगभग निश्चित मानिन्छ।
मधेश प्रदेशमा पछिल्ला राजनीतिक प्रक्रियामा बारम्बार असंवैधानिक कदम चालिएको आरोप लाग्दै आएको छ। प्रदेश प्रमुख तथा सभामुख दुवै पदमुक्त भइसकेका छन्। साथै, संविधानको धारा १६८(३) अनुसार कात्तिक २३ गते रातारात यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षी सांसदहरू सर्वोच्च अदालत पुगेका थिए।

