काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन महसुलको बक्यौताबापत छ उद्योगहरूले थप किस्ता तिरेको जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दोस्रो किस्ता भुक्तान गर्ने उद्योगमा अशोक स्टिल्सले ६३ लाख, हुलास स्टिल्सले ५० लाख ४३ हजार, हामा आइरनले २० लाख ८९ हजार, सर्वोत्तम सिमेन्टले ३७ लाख ६३ हजार र लक्ष्मी स्टिल्सले ८४ लाख ९८ हजार रुपियाँ भुक्तान गरेका छन्। साथै शुभश्री सिमेन्टले छैटौँ किस्ताको ३ लाख ५५ हजार रुपियाँ भुक्तान गरेको छ।
प्राधिकरणले गत असोजमा २८ किस्तामा बक्यौता भुक्तान गर्ने सुविधा दिएको थियो। रकम भुक्तान गर्ने उद्योगहरूको विद्युत् आपूर्ति काटिएको थिएन। कात्तिक पहिलो साता २२ उद्योगको विद्युत् लाइन काटिएको थियो, जसमा उद्योगहरूले पहिलो किस्ता तिरेपछि आपूर्ति पुनः सुरु भएको छ। प्राधिकरणले पहिलो किस्ता तिरेका उद्योगलाई दोस्रो किस्ता भुक्तानीका लागि पत्राचार पनि गरिरहेको छ।
गुल्मीमा ३३ लाख बढी बक्यौता उठ्न बाँकी, बक्यौता नतिरे लाइन काट्ने चेतावनी
गुल्मीमा विद्युत्को बक्यौता ३३ लाख रुपियाँभन्दा बढी रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए।
विद्युत् उपभोग गरी ६० दिन कटेका सेवाग्राहीहरूबाट कुल ३३ लाख ११ हजार ८१७ रुपियाँ बक्यौता रहेको छ।
सबैभन्दा बढी बक्यौता जयखानी सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिसँग छ, जसले तीन महिनादेखि २ लाख ७८ हजार ६६० रुपियाँ बुझाएको छैन। यस्तै, हचिङ्कोट सामुदायिक ग्रामीण विद्युतीकरणले २ लाख ३ हजार ५४, वीरबास सामुदायिक ग्रामीण विद्युतीकरणले ७० हजार ३८६, कालीमाटी कोटला लिफ्टिङ खानेपानी उपभोक्ता समितिले ९५ हजार ७१९, सविता बस्नेतले १ लाख ५२ हजार ६०६, सिद्धार्थ कङ्क्रिट उद्योगले ९४ हजार ५१९, यमबहादुर कामीले ७६ हजार २७९, रेडियो गुल्मीले ६६ हजार ३२९, जिल्ला प्रहरी कार्यालय गुल्मीले ७० हजार २०० र कालीगण्डकी गिट्टी–ढुङ्गा–बालुवा प्रशोधन केन्द्रले ६४ हजार ९८४ रुपियाँ बक्यौता राखेको छ।
पोखरेलले बक्यौता नबुझाए विद्युत् लाइन काटेर कारबाही गर्ने चेतावनी दिएका छन्।

