१६ मंसिर, जनकपुरधाम। नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर २० गते जनकपुरधामको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गर्ने भएको छ। मंगलबार जनकपुरमा गरिएको पत्रकार सम्मेलनमा पार्टीले मधेशभरि बढिरहेको एकताको लहरलाई सुदृढ पार्ने उद्देश्यले ठूलो सभा गर्ने तयारी गरिएको जानकारी गराएको हो।
कार्यक्रममा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। पार्टी नेता महेन्द्र रायका अनुसार सभालाई भव्य र ऐतिहासिक बनाउन प्रदेशभरिबाट करिब ४० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको छ।
रायले सबै जिल्लामा टोल–टोलमा प्रचार–प्रसार अभियान, संगठन विस्तार तथा जनसम्पर्क कार्यक्रम चलाइरहेको उल्लेख गर्दै सन्देशसभाले पार्टी एकता, राजनीतिक दिशा र आगामी रणनीतिलाई नयाँ ऊर्जासहित अघि बढाउने विश्वास व्यक्त गरे।
नेपाली कम्युनिस्ट पार्टीले हाल विभिन्न प्रदेशमा आयोजना गर्दै आएको श्रृंखलागत एकता सन्देशसभाको महत्वपूर्ण कडीका रूपमा जनकपुरको कार्यक्रमलाई लिएको छ, जसले मधेश प्रदेशमा पार्टी सुदृढीकरण र जनआन्दोलनको लामो यात्रालाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

