काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा विश्वस्तरका स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न सोमबार काठमाडौँ आइपुगेका छन्।
विराटनगर किङ्ग्ससँग अनुबन्धित प्लेसिस अपराह्न कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट लिगको बाँकी खेल खेल्ने बताईएको छ।
पाँच खेलमध्ये चार खेलमा जित निकालिसकेको विराटनगर किङ्ग्स हाल अंकतालिकाको तेस्रो स्थानमा उक्लिँदै ‘प्लेअफ’को ढोका नजिक पुगेको छ। प्लेसिसको आगमनसँगै किङ्ग्सको ब्याटिङ शक्ति झनै सुदृढ हुने अपेक्षा गरिएको छ।
विराटनगर किङ्सले अबको महत्वपूर्ण खेल भोलि बुधबार लुम्बिनीसँग खेल्नेछ।
मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली प्रतिस्पर्धामा उत्रेका छन्।

