काठमाडौँ — मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार यो परिचयपत्र आमा, बुबा, श्रीमान्, श्रीमती तथा अविवाहित छोरा–छोरीलाई प्रदान गरिनेछ।
प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने सरकारको सोमबार बसेको बैठकले निर्णय गरेको छ।
त्यसअघि भदौ अन्त्यतिर भएका आन्दोलनका क्रममा मृत्यु भएकामध्ये सहिद घोषणा भएका परिवारको पहिचान तथा सुविधा सुनिश्चित गर्न गृह मन्त्रालयमार्फत परिचयपत्र वितरण गरिने छ।
मन्त्रिपरिषद्ले आगामी माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका सेवा, वस्तु वा अन्य कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ।
श्रीलङ्कामा आएको भीषण बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि नेपाल सरकारले सहायतास्वरूप दुई लाख अमेरिकी डलर सहायता प्रदान गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए।
यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. ज्ञानबहादुर थापा र प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
कार्बन व्यापार नियमावली–२०८२ स्वीकृत गर्ने, र राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गर्ने निर्णय समेत बैठकले गरेको छ।

