काठमाडौँ — राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आज काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। आजै श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीच अर्को खेल पनि हुनेछ।
तीन वर्षसम्म शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस पटक राष्ट्रिय लिग आयोजना गरेको हो। तर एन्फा र सहभागी क्लबहरूको तयारी हेर्दा प्रतियोगिता औपचारिकतामा मात्र सीमित हुने देखिएको छ।
ए डिभिजनको हिमालय शेर्पा क्लबबाहेक १३ टोली र एन्फा प्रेसिडेन्ट कपका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। सुरुमा ए डिभिजनका शीर्ष ६ टोली र प्रेसिडेन्ट लिगका चार टोली सहभागी हुने बताइए पनि पछि ए डिभिजनका सबै क्लबलाई सहभागीताका लागि खुला गरिएको थियो। त्यसअनुसार हिमालय शेर्पा बाहेक सबै टोली लिगमा सहभागी हुँदैछन्।
प्रेसिडेन्ट लिगको सेमिफाइनलमा पुगेका लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काँक्रेविहार स्पोर्ट्स क्लब राष्ट्रिय लिगका लागि छनोट भएका हुन्।
एन्फाले पर्याप्त प्रचार गर्न नसक्दा समर्थक माझ राष्ट्रिय लिगबारे खासै चर्चा छैन। विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबलगायत केही क्लबले मात्र लामो समयदेखि तयारी गरिरहेका छन्।
सिंगल राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा कुल १३६ खेल हुनेछन्। राष्ट्रिय लिगको विजेताले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २५ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
यसअघि राष्ट्रिय लिगको पहिलो संस्करण नेपाल पुलिस क्लब र दोस्रो संस्करण थ्रीस्टार क्लबले जितेका थिए।

