बैंक लुटपाटको घटनामा संलग्न चार जना पक्राउ, १ करोड ८० लाख बरामद
काठमाण्डौ। नेपाल एसबीआई बैंकको सिन्धुलीस्थित एक शाखा लुटिएको छ । घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति लुटपाट भएको हो ।
बैंक लुटपाटको घटनामा संलग्न चार जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको हो। “चार जना पक्राउ परेका छन्, थप अनुसन्धान भैरहेको छ,” एसपी सुवेदीले बताए।
मंगलबार राति पाँच/छ जनाको समूहले बैंकमा लुटपाट गरी ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेको बताईएको छ।
लुटपाटपछि प्रहरीले स्थानीयको सहयोगमा विभिन्न स्थानबाट १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरेको जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा बाँकी रकम बरामदका लागि अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ।

