महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच कर्जा असुली सम्बन्धी परामर्श तथा सहजीकरण सेवा प्रदान गर्न एक औपचारिक सम्झौता भएको छ। बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार, बैंकले डोल्मा कन्सल्टेन्सीमार्फत कर्जा असुलीसम्बन्धी कानुनी परामर्श, तालिम तथा अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयरको प्रयोग गर्ने अवसर प्राप्त गर्नेछ। डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य गर्दै बैंकिङ्ग सशक्तीकरणमा योगदान दिँदै आएको छ। स्वदेशी तथा विदेशी अनुभवी विज्ञहरुद्वारा सञ्चालित कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणालीलाई सुदृढ बनाउनुका साथै कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
यसैबीच, बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य अनुरूप आफ्ना डिजिटल सुविधाहरूलाई निरन्तर सुधार गर्दै आएको छ। यसै क्रममा, बैंकले आफ्नो मोबाइल एप्लिकेसन परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ। यो एप्लिकेसनमार्फत ग्राहकहरूले सहज रूपमा डिजिटल बैंकिङ्ग सुविधा उपयोग गर्न सक्नेछन्।
महालक्ष्मी विकास बैंकले आगामी दिनमा पनि प्रविधि र सेवाको स्तरोन्नति गर्दै आफ्ना ग्राहकलाई अझ सरल र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

