नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनाको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ। आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको देखिन्छ। नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले वृद्धि भएको पनि रिपोर्टमा जनाइएको छ। शोधनान्तर स्थिति रु. २४९ अर्ब २६ करोडले बचतमा रहेको छ।
नेपालको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ। नेपाल सरकारको कुल खर्च रु. ६६७ अर्ब ६० करोड रहेको छ भने राजस्व परिचालन रु. ५५९ अर्ब ६१ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३.७ प्रतिशतले वृद्धि भएको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

