काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सोमबार होटल भिष्वा, वीरगञ्जमा सम्पन्न भएको हो ।
सो अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आव २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको कम्पनीले जानकारी दिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । सभाले आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । सभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी आठ अर्ब २० करोड ७९ लाख ६६ हजार पाँच सय ५४ रुपैयाँको २१ दशमलव शून्य पाँच प्रतिशतका दरले हुन आउने एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार नौ सय ५९ रुपैयाँ लाभांशको रूपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस सेयर र ११ दशमलव शून्य पाँच नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरू बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालीन रणनीति निर्माण गर्नलाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरीय सेवाको अनुभूति गराउन, समयको बचत र लागत घटाउन, भविष्यमा कम्पनीलाई डिजिटलरूपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताए । सञ्चालक समितिका अध्यक्ष संघईले साधारणसभामा सेयरधनीहरूले राखेको सुझावहरूलाई सकारात्मकरूपमा लिइने बताए ।
२०८१ असोज मसान्तसम्ममा कम्पनीको लगानी दुई खर्ब १५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष दुई खर्ब आठ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल एक सय ९५ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । साथै, कम्पनीले हालसम्म दुई खर्ब ८८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब जम्मा दाबी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राख्दै कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

