काठमाण्डौ । बुधबारदेखि सुनचाँदी व्यवसायीले पसल खोल्ने भएका छन् । सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्ने प्रधानमनत्री केपी शर्मा ओलीको आश्वासनपछी व्यवसायीले पसल खोल्ने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीको मागमा आफू सकारात्मक भएको बताएका छन् । सुनचाँदी व्यवसायी विलासिता कर एवम् भ्याट खारेजीको माग गर्दै एक सातादेखि पसल बन्द गरेर आन्दोलनमा थिए। उनीहरूले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।
सोमबार प्रधानमन्त्री केपी ओलीसँग भेट गरि सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट व्यवसायीलाई मर्का परेको, यसले उपभोक्तामा सिधै असर पार्ने एवम् सुनचाँदी व्यवसायमा नै प्रत्यक्ष प्रभाव पर्ने भन्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गरेका थिए । प्रधानमन्त्री ओलीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न सरकार अविलम्ब लाग्ने बताएका हुन् । सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले प्रधानमन्त्रीको आफ्ना मागहरू सम्बोधन गर्ने आश्वासन पछि पसल खोल्न तयार भएको बताए ।
सुनचाँदी व्यवसायीका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएसँगै व्यवसायी केही समयका लागि पछि हटेका हुन्। ‘पर्ख र हेर’ को अवस्थामा आफूहरू रहेको एक व्यवसायीले बताए । समयमा माग सम्बोधन नभए पुन: आफूहरू आन्दोलनमा आउने उनीहरूको भनाई छ ।

