अमेरिकाको लुमेन फिल्डमा रिभर प्लेटलाई जित दिलाउन फकुन्डो कोलिडियो, सेबास्टियन ड्रिउसी र म्याक्सिमिलियानो मेजाले गोल गरेका छन् । उरावा रेडका लागि युसुके मात्सुओले गोल फर्काएका थिए ।
खेलको १३औं मिनेटमा कोलिडियोको गोलमार्फत रिभर प्लेटले अग्रता लिएको थियो। उनले मार्कोस आकुनाको क्रसलाई हेडमार्फत जाली चुमाए।
ड्रिउसीले ४८ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। उरावा रेडका रक्षक मारिउस होइब्राटेनले गोलकिपरलाई शुसाकु निशिकावालाई हेडमार्फत ब्यकपास दिएको बललाई नियन्त्रणमा लिँदै ड्रिउसीले गोल गरे।
मात्सुओले ५८औं मिनेटमा गोल गोल गर्दै उरावा रेडलाई खेलमा फर्काउने प्रयास गरेका थिए। रिभल प्लेटका रक्षक माकोर्स आकुनाले ताकुरो कानेकोलाई बक्स भित्र ट्याकल गर्दै लडाएपछि उरावा रेडले पेनाल्टीको अवसर प्राप्त गरेको थियो।
मेजाले ७३औं मिनेटमा गोल गर्दै रिभर प्लेटको जित पक्का गरेका थिए । समूह ‘एफ’मा मामेलोडी सनडाउन्सले उल्सन हुन्डालाई १–० ले हरायो र त्यसमा निर्णायक गोल इकराम रायनर्सको रहेको थियो ।
जितसँगै तीन अंकमा मामेलोडी समूहको शीर्ष स्थानमा रहन सफल रह्यो। यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डलाई फ्लुमिनेजले गोलरहित बराबरीमा रोकेको थियो ।
(एजेन्सीको सहयोगमा )

