काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । सामाजिक संजाल ट्रुथमा पोष्ट गर्दै टर्म्पले बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका हुन्।
उनले भनेका छन्, ‘हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर।’
सामाजिक संजालमा एकपछि अर्को पोष्ट गर्दै ट्रम्पले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ।
सामाजिक सञ्जालको अर्को पोष्टमा उनले इरानी सुप्रिम लिडर कहाँ छन् भन्ने थाहा भए पनि तत्काल उनको ज्यान नलिने बताएका छन्।
‘हामीलाई सुप्रिम लिडर भनेर चिनिने व्यक्ति कहाँ लुकेको छ भन्ने कुरा ठ्याक्कै थाहा छ। उनी सजिलो लक्ष्य हुन्,’ उनले भनेका छन्, ‘तर उनी त्यहाँ सुरक्षित छन्। हामी उनलाई मार्ने छैनौँ। कमसेकम अहिले चाहिँ हत्या गर्दैनौँ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार भएको आफूले हेर्न नचाहेको बताएका छन् ।
केही दिन अघि गरेको एक अर्को पोष्टमा उनले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको दाबी गरेका थिए।
इरानसँग राम्रा स्काई ट्रयाकर र रक्षात्मक उपकरणहरू धेरै रहेको उनले बताएका छन्। तर, त्यो अमेरिकामा बनेका, अमेरिकी डिजाइन र अमेरिकी निर्माणको तुलनामा कमजोर रहेको ट्रम्पको दाबी छ।
अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहयोग र उपकरणहरू प्रदान गरिरहेको छ। तर, शुक्रबारदेखि आक्रमण सुरु भएपछि आधिकारिक रूपमा अमेरिका इजरायली हमलामा संलग्न नभएको बताइरहेको थियो।
क्यानाडामा जी– ७ बैठकबाट छिटो फर्केपछि बिहान एकदम शान्त देखिएका ट्रम्पले अहिले सामाजिक संजालमा चिन्ताजनक पोष्ट गरेका हुन्।
इरान आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताउने ट्रम्पले प्रयोग गरेको भाषाले अमेरिका इजरायलको साथमा रहेको र इरानविरुद्धको आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न भएको स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ।

