काठमाडौँ। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग पनि बयान लिने भएको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार बयानका लागि कार्कीलाई पत्र पठाइसकिएको छ। आन्दोलनको पहिलो दिन कार्की प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा एआईजीका रूपमा कार्यरत थिए । अर्को दिन अर्थात् भदौ २४ गते बिहानै उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको थियो।
प्रवक्ता शर्माका अनुसार सोधपुछका लागि आयोगले कार्कीलाई शुक्रबार उपस्थित हुन भनेको छ। यसअघि त्यतिबेलाका आईजीपी चन्द्रकुवेर खापुङ र त्यतिबेलाका गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि शुक्रबार नै संयुक्त बयानका लागि पत्र पठाइएको थियो।
खापुङ र दुवाडी बिहीबार पनि आयोगमा उपस्थित भएका थिए। उनीहरूको बयान नसकिएपछि शुक्रबार पनि निरन्तरता दिइने आयोगले जनाएको छ। बिहीबार दुवै जना ढिलो गरी झण्डै चार बजे सिंहदरबारस्थित आयोग कार्यालय पुगेका थिए र साँझ ६ बजेसम्म बयान चलेको थियो।
आयोगले तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी गरेको छ।
असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको ३ सदस्यीय जाँचबुझ आयोगलाई तीन महिनाको समयसीमा तोकिएको छ।
जेनजी आन्दोलनमा भदौ २३ गते भएको राज्यको दमन तथा २४ गतेका विध्वंसका घटनाको छानबिन गरी दोषी पहिचान गर्ने र कारबाही सिफारिस गर्ने अधिकार आयोगलाई दिईएको छ।

