काठमाडौँ । यात्रुको झोला जबर्जस्ती तान्ने, मान्छेलाई नै लज हो लज हो भन्दै लजसम्म पुर्याउन एवम् अन्य विभिन्न नाममा यात्रुलाई हैरानी पुर्याउने कार्य बढेपछि प्रहरीले नयाँ बसपार्क क्षेत्रमा विशेष अभियान चलाउँदै ४६ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले यसै हप्ता गोँगबु क्षेत्रमा शङ्कास्पद गतिविधि गर्ने ट्याक्सी चालक, होटल सञ्चालक तथा कर्मचारी एवम् एजेन्टलाई ठूलो परिमाणमा पक्राउ गरेको हो।
स्रोतका अनुसार प्रहरीले उनीहरूलाई सम्झाईबुझाई गरेर छोडेको छ । बुधबार साँझ मात्र पक्राउ परेका ४६ भन्दा बढी व्यक्तिहरू आइन्दा यस्तो नगर्ने कबुलसहित आफ्नो कार्यक्षेत्र फर्किएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार विभिन्न स्थानबाट राजधानी आएका यात्रुहरूलाई लक्ष्य बनाइ झोला तान्ने, जबर्जस्ती बोलाउने र दुःख दिने गतिविधि दोहोरिएपछि कडा निगरानी बढाइएको हो।
“पहिलो चरणमा सम्झाइबुझाई गरेर छाडिएको भए पनि पुनः दोहोरिए कडा कारबाही हुन्छ,” एसपी भट्टराईले बताए।
प्रहरीले अभियानलाई निरन्तर जारी राख्ने जनाएको छ।

